RUMPUM
animated ellipse animated ellipse

तीन सातामा ३० जुवाडे पक्राउ, प्रहरीले सहरमा कडाई गरेपछि गाउँमा जुवाडे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७५, बुधबार १५:२७
3
Shares
विराटनगर / प्रहरीले जुवाजन्य खेल सहरबजारमा कडाई गरेपछि पेशेबर जुवाडेहरू गाउँ केन्द्रीत भएका छन् ।

मोरङ प्रहरीले १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरमा जुवाजन्य गतिवधिमा निगरानी बढेपछि जुवाडेहरू पक्राउ पर्ने डरले गाउँ पसेका थिए । प्रहरीको पहुँचभन्दा टाढा मोरङको कानेपोखरी गाउँपालिका १ स्थित होक्लाबारीको गाउँमा जुवा खेल्दा खेल्दै प्रहरीले घरधनीसहित १० जना जुवाडेलाई केही दिन अगाडि पक्राउ गरेको थियो ।

मोरङ प्रहरीलाई पेशेवर जुवाडेहरू गाउँबस्तीमा डेरा जमाएर जुवा खेलेको विशेष सूचना आएपछि डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा गएको टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको थियो । प्रहरीको गाडी लिएर जाँदा स्थानीयले थाहा पाएर जुवाडे उम्किने भएको कारण अर्कै कार्यालयको गाडी लिएर मोरङ प्रहरी त्यहाँ गएको थियो ।

सादा पोशाकमा खटिएको प्रहरीले राति १ बजे जुवा खेलिरहेको घरलाई घेराबन्दी गरि जुवाखालबाट १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको थियो । प्रहरीले घर धनी कानेपोखरी गाउँपालिका १ का ४० वर्षीय मित्र रेग्मी, जुवा खेल्ने सोही ठाउँका ५१ वर्षीय उमाकान्त कार्की, ५२ वर्षीय तोर्ण कार्की, धनपालथान गाउँपालिका ४ का ४७ वर्षीय मोतीलाल राजवंशी, सोही ठाउँका ३१ वर्षीय ओमबहादुर कटुवाल, रंगेली नगरपालिका–२ का ४२ वर्षीय जनक कार्की, सोही ठाउँका ४३ वर्षीय राजुबहादुर थापा, ४९ वर्षीय राजेन्द्र शर्मा, ४२ वर्षीय विष्णु गुरुङ र ५२ वर्षीय डेफुराम खड्कालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने पेशेवर जुवाडेसमेत रहेको स्रोतको दाबी छ । त्यस ठाउँमा जुवा खेल्नेहरू रङ्गेलीबाट गएका थिए । पक्राउ परेका कतिपय जुवाडे यसअघि पनि पक्राउ परेका हुन् । त्यस्तै प्रहरीले विराटनगर १६ गोपाल यादवको घरमा जुवातास खेलिरहेकोे अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इप्रका रानीबाट खटिएको टोलीले आइतबार विराटनगर १६ का सुरेशप्रसाद मण्डल, राजकिशोर यादव, सोनु तत्मा, विष्णुकुमार अर्जेल, नविन महतो, रोहित दास र ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जुवाजन्य गतिविधि खेल्नेलाई धमाधम पक्राउ गर्न थालेपछि जुवाडे भागाभाग भएको बताए । मोरङ प्रहरीले एक सताको अवधिमा मोरङको विभिन्न स्थानमा जुवा खेल्ने दुई दर्जन बढी जुवाडेलाई पक्राउ गरेको बताएको छ । उनीहरूलाई पक्राउ गरि जुवा ऐन अन्तर्गत कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको छ ।

के छ ऐनमा ?
नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेले पनि जेल जानुपर्ने व्यवस्था उक्त संहितामा छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ । तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर