पूर्वाञ्चल खबर
यसैबीच, दर्शकबाट अत्यधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक सोमबार तीनवटा अतिरिक्त शो मञ्चन हुने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा बिहान सवा १०, पैने १२ र साढे १ बजे तीनवटा शो मञ्चन हुन लागेको हो । दर्शकबाट अधिक रुचाइएपछि अतिरिक्त शो मञ्चन गर्न लागिएको प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । तीनवटै शो बुक भइसकेको छ । सर्वसाधारण दर्शकमात्रै होइन प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिकाका मेयर भीम पराजुलीलगायतको आँसु झार्न सफल नाटक मञ्चन अत्यन्तै सफल भएको उनले जनाए ।
‘सोमबारका लागि तीनवटै शोका लागि अग्रिम बुकिङ भइसकेको छ,’ उनले भने ।
नाटकको औपचारिक समापन भने बिहीबार नै भइसकेको छ । तर, दर्शकबाट अधिक रुचाइएपछि पुनः अतिरिक्त शो देखाउन लागिएको हो । नाटकले सफलता प्राप्त गरिसकेकाले आगामी भदौमा पनि मुनामदन पुनः मञ्चन गरिने नाट्य संयोजक कमल पोखरेलले जनाए । मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवासाहित्यकार कट्वाल दीपकले गरेका हुन् । सुदीप कार्कीले निर्देशन गरेको नाटकमा लकेश दंगाल, सरु कटुवाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
‘अझै पनि धेरैतिरबाट केही दिन नाटक मञ्चन गर्नुप¥यो भन्ने आग्रह आइरहेको छ,’ आयोजक संस्था विराट आदर्श साहित्यिक मञ्चनका सचिवसमेत रहेका कट्वाल दीपकले भने, ‘तर, मंगलबारदेखि गुरुकुलमा अन्य नाटक मञ्चन हुने भएकाले मुनामदनको मञ्चन रोक्न बाध्य भयौं ।’ उनका अनुसार स्थान अभावले तत्कालका लागि रोकिए पनि भदौमा पुनः मञ्चन गरिनेछ ।