विराटनगर, २ फागुन /चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आज कवि एवं रंगकर्मी भरत गुरागाईंको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
विगत दुई वर्षदेखि हरेक महिनाको पहिलो हप्ता साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रम यो पटक भने प्राविधिक कारणले बुधबार गरिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । कार्यक्रममा गुरागाईंले ‘मानवताको कविता’, ‘खोज्दै जीवन’, ‘सहरमा’ , ‘खोंचभित्र च्यापिएर’, ‘निद्रा मरेको रात’, ‘गुलाफ र प्रेम’, ‘पुल’, ‘गन्तव्य’ र ‘ईश्वर’ शीर्षकका ९ वटा कविता प्रस्तुत गरेका थिए ।
झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका गुरागाईंले एकल कविता वाचनको अवसर दिएकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि डा. लक्ष्मणप्रसाद गौतमले चेतना संरक्षण प्रतिष्ठानले नियमित साहित्यिक शृंखला सञ्चालन गरेर प्रतिभालाई प्रोत्साहित गरेको बताए । उनले गुरागाईंले वाचन गरेका कविताका विषयमा समेत टिप्पणी गरेका थिए ।
तपाईको प्रतिक्रिया