खबर पूर्वाञ्चल
स्थानीय तहको निर्वाचन पछि महिलामुखी समाजको निर्माण गर्न नव निर्वाचित जनप्रतिनिधी महिलाहरुको भुमिका र प्रतिबद्धताको लागि “महिलाबादी मञ्च” कार्यक्रमको आयोजना गर्न लागिएको हो । महिला मानव अधिकार रक्षक संजालको अगुवाइमा अधिकारको क्षेत्रमा क्रियाशिल सबै सघ–सस्थाको आयोजनामा देशका सातवटै प्रदेशमा“ महिला मैत्री गणतान्त्रिक नेपाल सम्भव छ,हामी बनाउछौ”भन्ने नाराका साथ आयोजना हुदैछ ।
प्रदेश नम्बर एकको विराटनगरमा कार्यक्रम गर्न लागिएको महिला मानव अधिकार रक्षक संजालकी केन्द्रीय सदस्य मञ्जीता उपाध्यायले बताइन् । आज विभिन्न जिल्लामा क्रियाशिल अधिकारकर्मीहरुको विराटनगरमा भएको एक बैठकको मुल आयोजक समारोह समिति, सचिबालय समिति र विभिन्न १० वटा उपसमितिहरु निर्माण गरेको छ । कार्यक्रमको आयोजकमा मोरङ,सुनसरी लगायत अन्य जिल्लाका ५ दर्जन बढी संघसस्था रहेका छन ।
इतिहास देखिनै संरचनागत रुपले पछि पारिएका महिलाहरुको जीवनमा परिवर्तन ल्याउन, देशलाई जनताको चाहना अनुरुप रुपान्तरण गर्न के कस्ता क्षेत्रहरुमा परिवर्तन आबश्यक छ र ति परिवर्तन कसरी गर्न सकिन्छ भन्ने बारे भेलामा गहन छलफल गरिने भएको छ । यस्ता विषयहरुमा निर्वाचित जनप्रतिनिधी महिलाहरु, अधिकारकर्मीहरु, राजनीतिककर्मीहरु,बुद्धिजिवि, सञ्चारकर्मीहरुको सहभागितामा स्थानीय तहमा गर्नु पर्ने कामको पहिचान गरि नेतृत्वसंग कार्यान्वन गर्ने प्रतिबद्धता लिई त्यसलाई लिपिबद्ध गर्ने उध्येश्यले महिला मञ्च आयोजना गरिन लागेको हो । केन्द्रीय सदस्य उपाध्यायले कार्यक्रममा पहिचान गरिएका सवालहरु कार्यान्वयन प्रकृयामा लैजान स्थानीय तह र राष्ट्रिय तहबाट गर्न सकिने कामको वारेमा साझा धारणा बनाउने र समतामुलक समाज निर्माण गर्न यस प्रदेशमा रहेका स्थानीय तहमा नगरी नहुने सवालको पहिचान हुने भएकोले महिला जनप्रतिनिधीहरुको काममा सहयोग पुग्ने विश्वास लिइएको बताइन् ।
उपाध्यायले कार्यक्रममा ल्याइने अबधारणा माथि छलफल गरिने र आएको निष्कर्षलाई घोषणापत्र का रुपमा सार्वजनिक गरिने बताउनुभयो । कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्न पहल गरिने र महिलाहरुको उत्प्रेरणाको लागि पुर्व प्रधानन्याधिस सुशिला कार्कीलगायत विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्नुभएका अग्रज महिलाहरुलाई समेत निमन्त्रणा गर्ने विषयमा छलफल भइरहेको समेत उपाध्यायले जानकारी दिइन् । यस अघिका बर्षहरुमा पनि पूर्वाञ्चल स्तरीय महिला भेला आयोजना गरीएको थियो ।