AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्त्य हुन मुस्किल ‘मिटर ब्याजको आतंक’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७४, शनिबार १९:०७
3
Shares
विराटनगर,७ असोज/ विराटनगरमा केही समयअघि व्यवसायी विवेक अग्रवाल र राकेश बेगवानीले मिटर ब्याजकै कारण आत्महत्या गरेको कुरा सार्वजनिक चर्चामा आयो ।

विराटनगर मेनरोडमा व्यवसाय संचालन गरिरहेका विनोद दुगड चर्को मिटर ब्याजकै कारण व्यवसाय छोडेर भागे । उनी फरार भएपछि उनको पसलमा राष्ट्रिय वाणिज्य बैंकले ताला लगाएको छ ।

सुषुप्त अवस्थामा भएको मिटरब्याजका कारण यहाँका धेरै साना ठूला व्यवसायी पीडित छन् । अबैध कारोबारमा फसेकोले पीडितले उजुरी गर्दैनन् । प्रहरीले छुट्टै अनुसन्धान गर्न पनि चासो दिइरहेको छैन ।

असोज १ गतेदेखि विराटनगर महानगरपालिकामा विशेष सुरक्षा अभियान सुरु भएको छ । यो अभियानले मिटरब्याजको आतंक बन्द होला कि नहोला सर्वत्र चासो छ । मिटर ब्याजको आतंकको विषयमा यहाँका व्यापारिक घराना देखि उद्योग संगठन र मोरङ व्यापार संघले पनि सरकार तथा स्थानीय प्रशासन गुहारिरहेका छन् । तर, अहिलेसम्म मिटर ब्याजमा संलग्नरहेका व्यक्ति पक्राउ पर्न सकिरहेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण निकाल्न विभिन्न प्रक्रिया पुरा गर्ने झन्झट व्यहोर्नेुभन्दा छिट्टै पाइने भएका कारण मिटर ब्याजमा ऋण लिन व्यवसायी उत्सुक हुन्छन् । तर, मिटरब्याजका कारण दिन दुईगुणा रात चौगुणा आफू डुब्दै गएको थाहा नपाउँदा व्यवसायीले अन्तिममा कि आत्महत्या गर्ने कि त व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउँछ ।

मिटर ब्याजमा लगानी गर्न ब्यक्ति र समूह नै विराटनगरमा सक्रिय रहेको बताइन्छ । समूहमा विराटनगरमा सामाजिक छवि उच्च बनाएका व्यक्ति पनि संलग्न रहेको प्रहरी स्रोतको दाबी छ ।

दोषि किन पक्राउ पर्दैनन् त ?
मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले पीडित पक्ष प्रहरीसमक्ष नआएका कारण अनुसन्धानमा समस्या भएको बताउछन् । ‘पीडितहरु विभिन्न कारणले प्रहरीसमक्ष आउन डराइरहेको पाएका छौं,’ बिसीले भने, ‘यसमा संलग्न मानिसहरुको बारेमा हामीले अनुसन्धान अगाडि बढाएका छौं ।’

प्रहरीले दोषिलाई पक्राउ गरी संगठित अपराध ऐन अन्तर्गत कारबाहीको तयारी गरिरहेको जानकारी दिँदै बिसीले अनुसन्धानमा सहयोग गर्न अपिल गरे ।

‘प्रहरीले सुरक्षा अभियान अन्तर्गत पनि विशेष किसिमको अभियान चलाउने तयारी गरेको छ,’ प्रहरी प्रमुख बिसीले भने ,‘सुषुप्त अवस्थामा रहेको पाएका छौं, तर भित्रभित्रै भयंकर अपराध भइरहेको छ ।’ उनले मिटरब्याजकै कारण आत्महत्या गरेको भन्ने विषयमा प्रहरी पनि जानकार रहेको भएपनि त्यसको आधिकारिक पुष्टि हुन नसक्ने बताए ।

स्रोतका अनुसार एक लाख रुपैयाँ ऋण दिए कारोवारीले महिनाको ३० हजारसम्म ब्याज लिने गरेको बताउँछन् । कारोबारमा संलग्न व्यक्तिहरु रातारात धनाड्य भएको चर्चा छ । मिटरब्यजको कारोबारमा बैंकका म्यानेजर, केही उद्योगी, व्यवासायी पनि संलग्न रहेको बताइएको छ । पछिल्लो पटक ‘इजी मनी’को रुपमा छिट्टै धनाड्य हुन चाहने युवा पुस्ता पनि यसमा लागेको छ ।

विराटनगरमा मिटर ब्याजमा फसेका व्यवसायीहरु धेरै भएपनि इज्जत गुम्ने डरले बाहिर आउन नसकिरहेको प्रहरीको भनाइ छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने मिटर ब्याजको चंगुलमा फसेका व्यवासायी आफूहरुको सम्पर्कमा आए उद्धार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर