विराटनगर, ७ चैत / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले आज सोमबार मोरङको जिल्ला समन्वय समिति , सुनबर्षि नगरपालिका तथा तीनबटा गाउँपालिकामा तालाबन्दी गरेको छ ।
मोर्चाले कटहरी, दादरवेरिया, धनपाल गाउपालिका कार्यालय तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको संघिय समाजबादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवले बताए ।
यादवको नेतृत्वमा समन्वय समितिमा गएको टोलीले कार्यालय खुल्ने वितिकै तालाबन्दी गर्दै सुचना पार्टी तोडफोड गरेको छ ।
तालाबन्दीका कारण कार्यलयको काम ठप्प भएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रिय कार्यक्रम अनुसार स्थानिय तह कार्यान्वयन हुन नदिन जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको यादवले बताए ।
स्थानीय तह पुर्नसंरचना आन्दोलनरत मधेशी मोर्चासँग छलफल र समन्वय नगरी भएको विरोधमा रहेको फोरमले असहयोग आन्दोलन सुरु गरेको छ । तालाबन्दी गर्दै समिति परिसरमा आयोजित कार्यक्रममा फोरम मोरङ अध्यक्ष राजकुमार यादवले मधेश र मधेशीका माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने बताए । अध्यक्ष यादवले चैत्र ३० गते सम्म यो अवियानले तिब्रता पाउने जानकारी दिए । मोरङमा स्थानीय तह पुर्नसंरचना अन्तरगत एक उपमहानगर, ८ नगरपालिका र ८ गाउँपालिकासमेत १७ स्थानीय तह बनाइएको छ ।