पथरी, २७ फागुन पथरीशनिश्चरे–२ मा रहेको चिनारी इङ्लिस बोर्डिङ स्कूलले आफ्नो सातौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शुक्रबार पथरीशनिश्चरे–२ देवीगन्जमा अवस्थित विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको साँस्कृतिक नृत्य तथा विभिन्न खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
पथरीशनिश्चरे क्षेत्रमा ६ वर्ष अघि मात्र स्थापित चिनारी स्कूलका प्रिन्सिपल गजेन्द्र सुब्बाले विद्यालयको व्यवस्थापकीय पक्ष र भावी योजनाका बारेमा अभिभावकहरु समक्ष आफ्ना भावी योजना र प्रतिवद्धताहरु पनि राखे ।
विद्यालयका निर्देशक विरेन साम्बाको अध्यक्षता तथा विक्रम लिम्बूको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बोल्ने सहभागीले बालमैत्री वातावरण अपनाएका कारण चिनारीका विद्यार्थी पथरीशनिश्चरेमै नमूना बनाउने सुझाए ।
कार्यक्रमका प्रमुख अतिथि विक्रम लिम्बूले विद्यार्थीहरुलाई विषयगत शिक्षासंगै नैतिक तथा सामाजिक क्षेत्रका व्यवहारलाई पनि सिकाइनुपर्ने सुझाव राखे । चिनारीले विद्यार्थीहरुलाई अध्ययनमा मात्र जोड नदिई अतिरिक्त क्रियाकलापबाट पनि शिक्षा प्रदान गर्दै आइरहेको छ ।