खबर पूर्वाञ्चल
१९ फाल्गुन २०७३, बिहीबार १६:२९
विराटनगर, १९ फागुन । विराटनगर २० स्थित नेपाल–भारत सीमानाको दशगजा क्षेत्रमा नयाँ सडक निर्माण गरेर गिट्टी र बालुवा समेतका नदीजन्य पदार्थ भारततर्फ अवैध रुपमा तस्करी हुन थालेको पाइएको छ ।
गिट्टी र बालुवा भारत कटाउनकै लागि दुई देशीय सीमाना दशगजा क्षेत्र अतिक्रमण गरेर ट्रयाक्टर लगायतका ढुवानीका साधन अवातजावत गर्न सक्ने गरिको नयाँ बाटो बनाएर तस्करीमा संलग्नले काम थालेका हुन् ।
नेपाल र भारत दुई देशको सीमाना छुट्याउन बनाइएको दशगजामा सडक वा कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइँदैन । दुई देशीय कुटनैतिक मर्यादा विपरित दशगजामा नयाँ सडक निर्माण गरेर अवैध रुपमा गिट्टी र बालुवा भारततर्फ तस्करी हुँदा नेपाल प्रहरीले सहयोगीको भूमिका निर्वाह गरिरहेको आरोप लागेको छ ।
सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि २४ घण्टा नै प्रहरी परिचालित हुँदा पनि खुल्लेआम रुपमा तस्करी हुनुले नेपाल प्रहरीको भूमीका शंकास्पद बनेको हो । नेपालबाट ढुँगा, गिट्टी, बालुवा समेतका नदीजन्य पदार्थ भारततर्फ लैजान पनि प्रतिबन्ध लगाइएको छ । नेपाल भारत सीमानामा पर्ने विराटनगर २० दरैया वस्तीमा रातारात दशगजा अतिक्रमण गरेर सडक बनाउँदै नेपालबाट प्रतिबन्धित नदीजन्य पदार्थ भारत कटाउन थालिएको स्थानीय बासिन्दाको गुनासो छ ।
दरैया वस्तीबाट गिट्टी र बालुवा भारतको टिकुलिया वस्तीतर्फ तस्करी हुने गरेको हो । तस्करीमा संलग्नले नेपालमै आफ्नो प्रयोजनका लागि भनेर सस्तोमा खरिद गर्दै भारत पुर्याएर महँगोमा विक्री गर्ने गरेको स्थानीयले बताए । प्रहरीका अधिकारीको मिलेमतोमा गिट्टी र बालुवा भारततर्फ तस्करी हुने गरेको स्थानीयको भनाइ छ । एक प्रहरीका अुनसार गिट्टी र बालुवा भारत तस्करी गर्न दैनिक सय बढी ट्रयाक्टर र टिपरको प्रयोग हुन्छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले दशगजा क्षेत्रमा सडक निर्माण गरेर गिट्टी र बालुवा तस्करी हुने गरेको कुनै जानकारी नआएको बताउछन् । ‘यस विषयमा के हो भनेर जिल्ला प्रहरी कार्यालयबाट तुरुन्तै छानविन थालिने छ,’ उनले भने, ‘तस्करी नियन्त्रण गर्दै तस्करीमा सहयोग गर्ने प्रहरी र प्रहरी अधिकारीलाई तत्काल कारवाहीको दायरामा ल्याइने छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?