पूर्वाञ्चल खबर
२३ मंसिर, विराटनगर/ निजी विद्यालयहरुको छाता संगठन प्याब्सन मोरङको आठ वटा क्षेत्रिय संयोजक सर्वसम्मत रुपमा चयन भएपनि दुई नम्बर क्षेत्रमा भने निर्वाचन भएको छ ।
प्याब्सन मोरङको अधिवेशन अगाडी नै क्षेत्रको संयोजक छनौट गर्नुपर्ने भएकोले त्यही अनुरुप छनौट गरिएको हो ।
एक नम्बर क्षेत्रमा विराटनगर–५ जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमीको प्रिन्सिपल मोहन बुढाथोकी चयन भएका छन् । दुईमा मेरीगोल्ड सेकेण्डेरी स्कुलका प्रिन्सिपल नन्दलाल मण्डल निर्वाचित भए । मण्डलले शिव अधिकारीलाई पराजित गरी दुई नम्बर क्षेत्रको संयोजकमा निर्वाचित भएका हुन् ।
तीनमा गोदावरी बोर्डिङ स्कुलका विष्णु डंगोल, चारमा मनोज रेग्मी, पाँचमा शिक्षा सदन स्कुलका भूपाल बस्नेत, ६ मा बाल निकेतन स्कुलका खगेन्द्रराज भण्डारी, सातमा प्याराडाईज बोडिङ स्कुलका सुरेन्द्र लिम्बु, आठमा सुनगामा बोर्डिङ स्कुलका भूवन श्रेष्ठ र नौं मा न्यू स्टार बोर्डिङ स्कुलका मोती ढकाल चयन भएका छन् ।
प्याब्सन मोरङको १३ र्औ अधिवेशन शनिबार विराटनगरमा हुँदैछ । अध्यक्षसहितको सम्पूर्ण पदाधिकारी सर्वसम्मत गर्न प्याब्सनका अगुवाहरु लागि परेका छन् । अध्यक्षमा दाबी गर्दै आएका सुनिल पौडेललाई बरिष्ठ उपाध्यक्षमा राख्ने सहमति भएपछि अध्यक्षमा बासु न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन हुने सम्भावन बढेको स्रोतले बताएको छ ।