खबर पूर्वाञ्चल
विराटनगरको वीरेन्द्रसभा गृहमा स्थापना भएको सचिवालयको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका हुन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी उद्घाटन गरिएको सो सचिवालयबाट राखेपले गर्ने सम्पूर्ण काम हुने सदस्य सचिव विष्टले बताए ।
सचिवालय स्थापनासँगै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसीरमा हुने थप सुनिश्चित भएको विष्टले दावि गरे । ‘अब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर महिनाभित्रै पूर्वाञ्चलमा हुनेमा ढुक्क हुनुहोस्,’ सदस्य सचिव विष्टले भने, ‘मन्त्रीपरिषद्बाट आर्थिक निर्देशीका समेत पारित भइसकेको छ, बजेट पनि छिट्टै हाम्रो हातमा आइपुग्छ, त्यसै अनुसार अब युद्धस्तर काम अघि बढ्छ ।’
यसअघि आर्थिक निर्देशीका पारित नहुनु, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना निर्माणमा भएको ढिलाईलगायतका कारणले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा आशंका गरिएको थियो । यद्यपि सचिवालय उद्घाटन भएसँगै राष्ट्रिय खेलकुद हुने कुरामा आशंका नगर्न राखेपले सबैलाई आग्रह गरेको छ ।
यता आगामी मंसिर ८ गतेदेखि हुने भनिएको प्रतियोगिता निर्धारित समयमा नहुने भएपछि खेलाडि तथा प्रशिक्षकहरुमा निराशा छाएको छ । प्रतियोगिताका लागि जिल्ला स्तरको छनौट सकिएर कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म क्षेत्रीय स्तरको छनौट हुने र मंसीर ८ गते देखि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भएको थियो । यसरी पटक पटक मिति सर्दा खेलाडिहरुलाइ प्रशिक्षण गराउन समस्या हुने कराँतेका प्रशिक्षक बिमल पोखरेले बताए ।
गत वर्षपनि कराँतेमा छनौट भएका खेलाडी संजिव राइ यसपल्टपनि प्रतियोगिताको मिति सर्दा आफुहरु अन्योलमा परेको बताउँछन् । आफ्नो पढाइ, रोजगार लगायतका विभिन्न कुराहरुलाइ व्यवस्थापपन गरेर प्रतियोगिताको तयारी गरिरहेका खेलाडिहरुलाइ पटक पटक मिति सारिदा हौसला कम हुने उनीहरुकोे भनाइ छ ।