पूर्वाञ्चल खबर
विद्यालयका अनुसार चाडपर्वको बिदा सकिएलगत्तै निर्धारित समयमै कक्षाहरू सञ्चालन गर्ने तयारीका साथ काम अघि बढाइएको छ। आगलागीबाट क्षति पुगेको संरचनाको काम छिट्टै सम्पन्न गरेर आगामी मंसिर १ गतेदेखि नियमित रूपमा पठनपाठन सुचारु गरिने विद्यालयका प्रिन्सिपल विजय डाँगीले जानकारी दिए।
विद्यार्थीहरूको पढाइ नरोकियोस् भन्ने उद्देश्यले विशेष योजना बनाइएको प्रिन्सिपल डाँगीको भनाइ छ। ‘चाडपर्वको बिदा सकिएपछि मंसिर १ गतेबाट सबै कक्षाहरू नियमित सञ्चालन हुनेछन्। तर, एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरूको हकमा भने दसैँपछि र तिहार अगाडिको समयमै कोचिङ कक्षाहरू सञ्चालन गर्नेछौँ,’ उनले भने।
असोज २९ गते बिहान करिब ३ बजे विद्युत् सर्ट भएर विद्यालयको प्रशासनिक भवन र विज्ञान प्रयोगशाला (ल्याब) मा आगलागी भएको थियो। उक्त आगजनीबाट करिब ३५ देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनालगत्तै समयमै दमकल आइपुगेका कारण विद्यालयमा थप ठूलो क्षति हुनबाट जोगिएको थियो। विद्यालयका संस्थापक सिएम श्रेष्ठले भने, ‘भवनमा आगलागी भएपछि हामीले तत्काल वडाध्यक्षसँग समन्वय गर्यौँ। जतुवामा रहेको दमकल समयमै आइपुगेकाले आगो नियन्त्रणमा आयो र ठूलो क्षति हुन पाएन।’
हाल क्षतिग्रस्त भवन र ल्याबको पुनर्निर्माणको काम द्रुत गतिमा भइरहेकाले तोकिएकै समयमा सुरक्षित र सहज वातावरणमा कक्षा सञ्चालन हुने विद्यालयले स्पष्ट पारेको छ।