AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको दिव्य ज्योति आँखा अस्पतालको गाडीमा गाँजा तस्करी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०८३, बुधबार १६:३६
18
Shares
विराटनगर / विराटनगरको दिव्य ज्योति आँखा अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर विराटनगरबाट गाँजा तस्करीको प्रयास गरिएको छ ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बजेतिर ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोजेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका सुरक्षाकर्मीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए ।

चेकजाँचका क्रममा भ्यानभित्र दुईवटा बोरामा राखिएको ६० किलो गाँजा फेला परेको जानकारी उनले दिए । बरामद गाँजासहित भ्यानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको एसपी भण्डारीले बताए ।

पछिल्लो समय लागुऔषध ओसारपसारमा संलग्न समूहले सुरक्षाकर्मीको निगरानी छल्न नयाँ–नयाँ तरिका अपनाउने गरेको देखिएको छ । यस घटनामा भने सर्वसाधारण तथा सुरक्षाकर्मीको ध्यान कम जाने अनुमान गर्दै अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर गाँजा ओसारपसार गर्न खोजिएको पत्ता लागेको छ ।

अस्पतालको नाम प्रयोग गरिएको गाडीलाई सामान्य रूपमा अस्पतालसँग सम्बन्धित सवारी ठानिने भएकाले चेकजाँच कम हुने अपेक्षामा तस्करीका लागि प्रयोग गरिएको हुनसक्ने सुरक्षा स्रोतको भनाइ छ । विराटनगर महानगरपालिका–१४ मा मलाया रोडमा दिव्य ज्योति नामको आँखा अस्पताल छ ।

गाडी उक्त अस्पतालको हो कि हैन भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ‘आँखा अस्पतालले गाडी भाडामा लगाएको हो वा अस्पतालकै गाडी हो भन्ने यकिन छैन । अवैध धन्दा चलाउने व्यक्तिहरुले सुरक्षाकर्मीलाई छल्नका लागि पनि त्यसरी अस्पतालको नाम राखेको हुन सक्छ । विस्तृत कुरा अनुसन्धानपछि मात्रै पत्ता लाग्छ,’ प्रहरी स्रोतले भन्यो ।

उक्त गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको थियो भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ । फरार भएका चालकको समेत खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर