विराटनगर, ७ बैशाख / नेपाली कांग्रेस मोरङले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सञ्चार डेक्स स्थापना गर्ने भएको छ ।
पार्टीका गतिविधिलाई प्रचार–प्रसार गर्न डेक्स स्थापना गरिन लागेको कांग्रेसले जनाएको छ । आज बसेको पार्टी बैठकले मोरङ कांग्रेसका प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।
प्रेस युनियन आबद्ध पत्रकारहरूलाई यसमा समेटिएको छ । प्रेस युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदित, कौशल निरौला, कुमार लुइँटेल, कुमोद अधिकारी, विनोद सुवेदी र देवनारायण साहलाई सञ्चार डेक्समा राखिएको छ ।
पत्रकार कुमार लुइँटेललाई समाचार संयोजकको जिम्मेवारी दिएको छ । यस्तै पार्टीले उर्लाबारी, पथरी, बेलबारी र रंगेली क्षेत्रमा रहेका प्रेस युनियन आबद्ध पत्रकारहरूको प्रचार–प्रसार उपसमिति गठन गर्ने जनाएको छ । विभिन्न क्षेत्रमा रहेका पार्टीका गतिविधिहरू समेटियोस् भनेर सञ्चार डेक्स स्थापना गरिएको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए ।
यस्तै बैठकले त्रैमासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख कार्कीकै संयोजकत्वमा ७ सदस्सीय सम्पादकीय मण्डल गठन भएको छ । जसमा पत्रकारहरू मीनकुमार नवोदित, अनन्तराज न्यौपाने, शेखर रेग्मी, सुशीला पाठक र तारा आचार्य छन् । बुलेटिनमा कांग्रेसका हरेक गतिविधिहरू प्रकाशन गरिनेछ ।