खबर पूर्वाञ्चल
घटनामा संलग्न अपराधी पक्राउ नपर्नु र अनुसन्धानको ठोस नतिजा नआउनुले गौतम परिवारको पीडामाथि थप पीडा थपिएको छ । यही कारण, उनीहरूले छोरीको शव बुझ्न अस्वीकार गरेका छन्, र हत्यारा पक्राउ गरी सार्वजनिक नगरेसम्म दाहसंस्कार नगर्ने अडान लिएका छन् ।
असोज २१ गते ‘खेल्न जान्छु’ भन्दै घरबाट निस्किएकी अंशु त्यसपछि कहिल्यै फर्किनन् । परिवार र स्थानीयले खोजी गरे पनि उनको पत्तो लागेन । हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा उनको शव क्षतविक्षत अवस्थामा फेला प¥यो । यो घटनाले लेटाङ मात्र नभई सिंगो देशलाई नै स्तब्ध बनायो । हाल अंशुको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । तर परिवारले न्याय नपाएसम्म शव नबुझ्ने निर्णय गरेको छ ।
अंशुका ठूलाबुवा डिल्ली गौतमले भने, ‘जबसम्म प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्दैन, तबसम्म हामी शव बुझ्दैनौं ।’ परिवारले डीएनए परीक्षणको रिपोर्ट आउनुप¥यो र अपराधी कानुनी दायरामा ल्इाउनुपर्ने माग राखेका छन् । ‘रिपोर्ट पनि आउनुप¥यो र दोषीलाई पक्राउ गरेपछि मात्र परिवारले शव बुझ्ने मनस्थिति बनाएको छ,’ उनले भने ।
यता मोरङ प्रहरीले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएर अनुसन्धानलाई तीव्र पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी कवित कटुवालले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै यस घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन् । उनका अनुसार, घटनास्थलबाट संकलन गरिएका सबुत प्रमाणहरूलाई फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
‘
यो घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं । अनुसन्धानका लागि समिति नै गठन गरिएको छ,’ एसपी कटुवालले भने, ‘अनुसन्धानमा जिल्ला प्रहरी मात्र नभई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र संघीय प्रहरी इकाई कार्यालयका विज्ञहरूको समेत सहयोग लिइएको छ ।’ प्रहरीले संयुक्त र सूक्ष्म तरिकाले अनुसन्धान अगाडि बढाइरहेको र चाँडै नै नतिजामा पुग्ने विश्वास दिलाएको छ ।
प्रहरीले अनुसन्धान साँघुरिँदै गएको (न्यारो डाउन) बताएको छ । ‘हामीलाई विश्वास छ, छिट्टै नै अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनेछौं,’ कटुवालले भने । हाल प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको दक्ष टोलीले घटनास्थल र सम्भावित क्षेत्रमा अनुसन्धान गरिरहेको छ ।