खबर पूर्वाञ्चल
नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको २ सय ३६ रनको सामान्य चुनौती नेपालले ३६ दशमलब २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा अविजित रहे । मल्लले ४० बलमा ५ छक्का र ५ चौका प्रहार गरि विस्फोटन ब्याटिङ गरे । कप्तान रोहित पौडेलले ४२ रन, कुशल भुर्तेलले ३८ रन र आसिफ शेख एक रनमा आउट भएका थिए भने दीपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे । मलेसियाका महमद वाफिक, रिजवान हैदर, विजय युनी र विरन्दिप सिंहले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङमा आएको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रनको सामान्य योगफल बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे भने विरन्दिप सिंहले ४६ रन जोडे । नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट र गुल्सन झाले एक विकेट लिए ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।