पूर्वाञ्चल खबर
आन्दोलनले उग्र रुप लिएपछि आज दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी भएको छ ।
आन्दोलनमा गोली लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा तीर्थप्रसाद पनेरू, अर्जुन भण्डारी र सन्तोष कठरिया र तेज भट्ट रहेका छन् । कठरियाको खुट्टामा र भट्टको टाउकोमा गोली लागेको छ । उनीहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरुलिे जनाएको छ । एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
बुधवारसम्म सदरमुकाम महेन्द्रनगरमा सीमित रहेको आन्दोलन आज बिहानैदेखि जिल्लाभरि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । प्रहरीले हत्याका मुख्य अभियुक्तलाई बचाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलनकारी थप आक्रोशित भएका छन् ।
भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन्। गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो। मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएको बारे जानकारी लिइरहेको बताए।
घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ। उनले आजैदेखि घटनाको छानबिन थालेको प्रहरी स्रोतले जनाएको छ।