AArya
RUMPUM
animated ellipse animated ellipse

केही दिन भित्र प्रदेश सरकार – शेरधन राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७४, शुक्रबार २०:१४
3
Shares
फाइल तस्वीर
विराटनगर, २६ माघ/नेकपा एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले संसदीय दलको बैठक बसेर केही दिन भित्रमा सरकार गठन गर्ने बताए छन् ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकारी गर्दै राईले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने जानकारी दिए । ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ,’ उनले भने । अब बन्ने सरकारले प्रदेश १ लाई नमुना प्रदेश बनाउने उद्घोष गरे । उनले प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने बताए । ‘दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन,’ उनले भने, ‘सबै माननीय सदस्यलाई एक समान दृष्टिले हर्नेछु ।’ उनले सबै माननीय सदस्यलाई जिम्मेवारी समेत प्रदान गर्ने बताए ।

यता संसदीय दलको नेतामा पराजित भएका एमाले नेता भीम आचार्यले अब पार्टीमा सक्रिय रुपमा लागि पर्ने बताए । सभामुखमा अवसर आयो भने नि ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा उनले भने, ‘सभामुखमा मेरो इच्छा छैन । पहिले पनि पार्टी राजनीतिमा सक्रिय थिए । अब पनि पार्टी राजनैतिकमा नै लागि पर्दछु ।’

को हुन् शेरधन राई ?

२०२७ साल फागुन ११ गते आमचोक गाउँपालिका भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालदेखि विद्यार्थी राजनीति गरेका हुन् । बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट जन्मिएका उनी भलिबल खेलाडी पनि हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् । ०४७ सालमा पार्टीको सदस्यता लिएका राईले त्यसपछि २ पटक सम्म विद्यार्थी संगठनको पूर्वाञ्चल प्रमुख भएर काम गरे । त्यसपछि भोजपुर जिल्लाको पार्टी कमिटिमा निर्विरोध चयन हुँदै ४ पटक भूमिका निर्वाह गरे । ‘भोजपुर जिल्लाको इतिहासमा म नै निर्विरोध निर्वाचित भएको एउटा मात्रै पात्र हुँ,’ राईले भने, ‘पदाधिकारी लेबलमा लामो समय काम गर्ने र उत्कृष्ट काम गरेको म नै हुँ ।’

२०५४ सालमा एमाले विभाजन हुँदा होस् या ०६२÷०६३ सालपछि भएको पहिलो संविधानसभा पछि अशोक राईहरुले पार्टी छाड्दा पनि अविचलित भएर राई एमालेमै रहिरहे । ०५६ सालको निर्वाचनमा सबैभन्दा कान्छो सांसदको रुपमा २७ वर्षमै राज्यको निति निर्माण गर्ने तहमा पुगेका राई ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।

संविधानसभामा रहँदा सुशासन समितिमा रहेर काम गरेका राई केपी ओली नेतृत्वको सरकारका पालामा उत्कृष्ट संचारमन्त्री भएर काम गरेको सबैले बताउँछन् । ‘सरकारको सफल संचारमन्त्रीको रुपमा मैले काम गरेको थिएँ,’ उनले भने, ‘मेरा सबै कार्यकाल सफलतापूर्वक सम्पन्न भएका छन् ।’
गाउँमै ७ कक्षासम्म अध्ययन गरेका राईले भोजपुरको घोडेटारमा रहेको सगरमाथा माविबाट एसएलसी, भोजपुर बहुमुखी क्याम्पसबाट स्नातक र काठमाडौंको पाटन क्याम्पसबाट एमएसम्मको अध्ययन गरेका छन् ।

आज दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । उनै राई यो प्रदेशबाट मुख्यमन्त्री बनेको हेर्न केही दिन मात्रै कुर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर