AArya
RUMPUM
animated ellipse animated ellipse

सर्प हाम्रा शत्रु होइनन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०८३, मंगलवार ०९:५४
3
Shares
मिलन खरेल
सर्पलाई धेरै मानिसहरूले डर र अन्धविश्वासका कारण शत्रु ठान्छन्।तर वास्तवमा सर्प प्रकृतिको महत्वपूर्ण जीव हो र मानवको शत्रु होइन। सर्पले मानिसलाई खोजेर आक्रमण गर्दैन; आफूलाई खतरा महसुस गर्दा मात्र टोक्ने गर्छ।सर्पले खेतबारी र घर वरिपरिका मुसा तथा अन्य हानिकारक जीवहरू खाएर नियन्त्रण गर्छ। यदि सर्प नहुने हो भने मुसाको संख्या अत्यधिक बढ्न सक्छ, जसले अन्नबाली र खाद्यान्नमा ठूलो क्षति पुर्‍याउँछ। यसरी सर्प किसानका लागि अप्रत्यक्ष रूपमा सहयोगी हुन्छ।त्यसैगरी, पारिस्थितिक सन्तुलन कायम राख्न पनि सर्पको महत्वपूर्ण भूमिका हुन्छ।सर्प प्रकृतिको मित्र र वातावरणीय सन्तुलनका रक्षक हुन्। उनीहरूलाई अनावश्यक रूपमा मार्नु वा शत्रु ठान्नु उचित होइन।सचेतना रसावधानी अपनाएर सर्पसँग सहअस्तित्व कायम गर्न सकिन्छ।

सर्पदंस

एशियामा प्रत्येक वर्ष करिब २० लाख मानिसहरू सर्पको डसाई बाट प्रभावित हुने गर्दछन्। विषालु सर्पको टोकाइले विशेषगरी न्यून तथा मध्यम आय भएका देशका गरिब ग्रामीण समुदायमा बसोबास गर्ने महिला, बालबालिका र किसानहरूलाई असर गर्छ।स्रोतका अनुसार, नेपालमा भने हरेक वर्ष करीव बिस हजार जति सर्पदंशका घटनाहरु भएता पनि करीव एक हजार जना मानिसले सर्पदंशबाट आफ्नो ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ।

जटिलता

विषालु सर्पले टोकेपछि समयमा उपचार नगरेमा गम्भीर पक्षघात गराउन सक्छ, जसले श्वासप्रश्वास नै रोक्न सक्छ। यसले रगत जम्ने प्रक्रियामा गडबडी ल्याई घातक रक्तस्राव गराउन सक्छ, मिर्गौलाले काम नगर्ने अवस्था निम्त्याउन सक्छ, अपाङ्गता वा हातखुट्टा काट्नुपर्ने अवस्था समेत अवस्था सिर्जना गर्न सक्छ।

आत्तिनु पर्दैन

सर्पदंशको लागि अत्यन्त प्रभावकारी उपचार उपलब्ध छ। सुरक्षित र प्रभावकारी एन्टिभेनम (विषप्रतिरोधी औषधि) लाई व्यापक रूपमा उपलब्ध र पहुँचयोग्य बनाउन सकेमा सर्पदंशबाट हुने अधिकांश मृत्यु तथा गम्भीर जटिलताहरू पूर्ण रूपमा रोक्न सकिन्छ।

कुन कुन सर्प विषालु हुन्छन् ?

सन् २०२२ मा अनुसन्धानकर्ताहरुबाट नेपालमा गरिएको एक अध्ययनका अनुसार नेपालबाट हालसम्म ८४ प्रजातिका सर्पहरु पाइएका छन्। जसमध्ये १७ प्रजातिका सर्पहरु विषालु रहेका छन् जस अन्तर्गत गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत,  बाघे तथा हरेउ प्रजातिका विषालु सर्पहरु पर्ने पर्दछन् ।

चिन्ने कसरी ?

बाहिर बाट हेर्दा धेरैजसो सर्पहरु उस्तै-उस्तै देखिएतापनि पनि प्रत्येक सर्पको शारीरिक बनावटमा केही न केही फरक विशेषताहरु अवश्य हुन्छन्। यिनै विशेषताका आधारमा साधारणतया विषालु र अविषालु सर्पहरु छुट्याउने गरिन्छ।विज्ञहरुले सर्पको टाउको तथा शरीरमा रहेका कत्लाहरुको संख्या गनेर तथा कत्ला को बनावट र रहेको स्थानका आधारमा समेत छुट्याउने गर्दछन्।

  • गोमन सर्पले आफ्नो घाँटीको छाला तन्काएर फणा बनाउँदछ। यसो गर्दा यिनीहरुको घाँटीमा गोलाकार वा अंग्रेजीकोभि आकारको चिन्ह प्रस्ट रुपमा देखिने गर्दछ। यिनीहरुलाई जिस्क्याएमा यिनीहरुले आफ्नो शरीरको एक तिहाई जति अगाडिको भागलाई जमिनबाट माथि उठाई स्याँ-स्याँ गर्दै अवाज निकाल्ने गर्दछन्।
  • टाउको थ्याप्चो र त्रिकोणात्मक भएका हरिया रङ्गका हरेउ अर्थात् ‘ग्रीन पिट भाइपर समूहमा पर्ने हरिया रङ्गका सर्पहरु विषालु हुन्छन्। यिनीहरुले भने आफ्नो शरीरलाई खुम्च्याएर स्प्रिङ जस्तो आकारको बनाइ आफ्नो शत्रु माथि डस्न जाईलाग्ने गर्दछन्
  • ढाडतिरको भागमा ठुल्ठुला अन्डाकार नियमित बुट्टाहरु भएका बाघे सर्प (रसेल्स भाइपर) अति विषालु हुने गर्दछन्। आखाँ र नाकको प्वालको विचमा ताप संवेदनशील अङ्ग भएका ‘पिट भाइपर भनिने सर्पहरु पनि अति नै विषालु हुने गर्दछन्।

सर्पको विष (भेनम) के हो ?

सर्पको विष वास्तवमा एक प्रकारको परिवर्तित र्याल ग्रन्थिको उत्पादन हो, जसलाई सर्पले आफ्नो सिकारलाई मार्ने र पचाउने कार्यका लागि प्रयोग गर्दछ। याद राखौं सबै सर्पहरु विषालु हुदैनन् र हरेक सर्पदंशबाट मानिसको ज्यान जादैंन। सर्प विषालु नै भएता पनि सधैँ ज्यानै जान्छ भन्ने होइन। विषले मनिसमा पार्ने असर डस्ने सर्पको आकार, डसाइको पूर्णता, शरीरमा प्रवेश गरेको विषको मात्रा, डसेको व्यक्तिको उमेर, शारीरिक क्षमता तथा उसको मनोवैज्ञानिक अवस्थामा समेत भर पर्दछ।

सर्पदंशका लक्षणहरु ?

सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रसायनिक संरचना अनुसार फरक-फरक किसिमको हुने गर्दछ। विशेषत तराईमा हुने सर्पदंशहरु मध्ये अधिकांस “ईलापिडी” भनिने समूह अन्तर्गत पर्ने गोमन र करेत प्रजातिका विषालु सर्पहरुको डसाइबाट हुने गरेको पाईएकोछ। उक्त प्रजातिका सर्पको डसाई बाट व्यक्तिमा स्नायुघात भई निम्न लक्षणहरु देखा पर्ने गर्दछन् ।

  • आँखाको ढकनी भारी महशुस भई हेर्न सक्ने गरी आँखा उघार्न नसक्नु
  • मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न नसक्नु
  • कुनै पनी कुरा निल्न नसक्नु
  • सास फेर्न गार्हो हुनु
  • हात खुट्टाका मांसपेशी नचल्नु
  • मुखबाट निस्किएको रालले घाँटी टालिएर सास फेर्न नसक्नु
  • डसेको ठाउँको घाउ पाक्नु, सुन्निनु र तन्तुहरु मर्न थाल्नु
  • “भाईपेरिडी” भनिने समूह अन्तर्गत पर्ने बाघे, हरेउ जस्ता सर्पको डसाईबाट भने गिजा, पेट, आन्द्रा, आँखा तथा शरीरमा लागेका घाउ-चोट आदिबाट बाहिरी तथा आन्तरीक रक्तश्राब हुने गर्दछ।

बच्नेकसरी?

  • कुनै पनी सर्प देखिएको खण्डमा त्यसलाई समात्ने, जिस्क्याउने तथा चलाउने जस्ता कार्य नगरौं
  • रातको समयमा बाहिर निस्कनु परेमा चप्पल लगाउनुको सट्टा कडा किसिमका जुत्ता तथा पुरै खुट्टा ढाक्ने खालको लामो, बाक्लो पेन्ट वा ट्राउजर लगाउने गरौँ
  • घर खेत आदिमा देखिने दुलादुलीहरु तथा रुखका खोक्रो मुढाहरु, बाक्लो घाँस, झाडी, काठको थुप्रो तथा इँटा, ढुङ्गा जस्ता निर्माण सामग्री हरु थुपारेको ठाउँमा जथाभावी रुपमा हात नहालौं
  • घर वरिपरी मुसा बस्ने दुला दुली छन् भने समयमै टालटुल पारौं
  • यदि घरमा मुसाको बिगबिगी छ भने त्यसलाई नियन्त्रण गरौँ किनकि यिनीहरुले सर्पलाई आकर्षित गर्ने गर्दछन्
  • घरआँगन छेउछाउ तथा वरीपरी रहेका लामा लामा घाँस झारपात भएमा तिनलाई मसिनो गरि काँटछाँट गरौँ
  • भुइँमा नसुतौं, सधैं झुल टाँगेर मात्र सुत्ने गरौँ
  • रातको समयमा बाहिर निस्कनु परेमा सदैव टर्चलाइट अथवा बत्तीको प्रयोग गर्ने गरौँ
  • बच्चाहरुलाई सर्पहरु लुकेर बस्न सक्ने सम्भावित स्थानरक्षेत्र तिर जान बाट रोकौं
  • मादक पदार्थ सेवन गरेको बेलामा सर्पलाई जिस्क्याउने चलाउने जस्ता कार्य नगरौं
  • केवल बाहिरी बनावट र रङ्गको आधारमा सर्प विष रहित हो भन्ने कुरामा विस्वस्त नबनौं
  • आफ्नो वसोवास रहेको स्थान बाट सबैभन्दा नजिकैको सर्पदंश उपचार केन्द्र र त्यहाँ उपलब्ध हुने विष प्रतिरोधी औषधी भए नभएको जानकारी राख्ने गरौँ

डसेमा के गर्ने ?

सर्पदंशबाट व्यक्तिको मृत्यू हुने प्रमुख कारण, समयमै सम्बन्धित उपचार केन्द्र सम्म पुग्न नसक्नु हो। सर्पले डसेको थाहा पाउने बित्तिकै अथवा डसेको शंका लाग्न साथ निम्न कुराहरु प्राथमिक उपचारको रुपमा तत्काल अपनाउने गरौँ।

  • तत्काल गरिने प्राथमिक उपचारले बिरामीलाई शारीरिक तथा मानसिक पीडा कम गर्न र उपचारका लागि केही थप समय प्रदान गर्दछ तर सही तरिकाले नगरिएको प्राथमिक उपचारले थप जटिलता निम्त्याउने गर्दछ।
  • सर्पले डसेको व्यक्तिलाई गरिने एउटै मात्र प्रभावकारी उपचार विष प्रतिरोधी औषधी (एन्टिभेनम सेरम) को प्रयोग हो जुन सरकारी अस्पताल, सैनिक अस्पताल, कतिपय निजी अस्पताल तथा रेडक्रस द्वारा संचालित सर्पदंश उपचार केन्द्रहरुमा पाइने गर्दछ।
  • सर्पले डसेको व्यक्ति मानसिक तनावमा हुने भएकाले सकेसम्म उसलाई ढाडस दिई शान्त राखौं, डसेको भागलाइ चलमल गर्न नदिईकन स्थिर पारी राखौं किनकि अत्तालिएमा मुटुको धड्कनमा वृद्धि भई रक्तसंचार मार्फत विष चाँडो शरीरमा फैलिने गर्दछ।
  • सर्पले डसेको व्यक्तिले चुरा औंठी आदि जस्ता वस्तु लगाएको भएमा फुकालेर राखौं किनकि उक्त भाग पछी भाग सुन्निन गई कसिलो हुन सक्छ।
  • सर्पले डसेको व्यक्तिलाई चाँडो भन्दा चाँडो अस्पताल पुर्याउन सवारीसाधन कम भएका स्थानमा स्थानीयवासी मिलेर ‘मोटरसाइकल स्वयंसेवक समुह गठन गरी परिचालन गरौँ।
  • सर्पले डसेको स्थानलाई साबुन पानी वा एन्टिसेप्टिक (जस्तो डेटोल पानीले) राम्रोसँग धोई सफा गरौँ।
  • सर्पले डसेको स्थानलाई (हात खुट्टा भएमा मात्र) लामो काठ बाँस लौरो आदिको काम्रो बनाई नहल्लिने गरी बाँधेर स्थीर राखौं।
  • डसेको स्थान सहित सो को तल्लो र माथिल्लो भाग ढाकिने गरी चौडा किसिमको टाई, कपडा अथवा ब्यान्डेजले ठिक्कको कसीलो पारि मर्किएको ठाउँमा बेरेको झैँ गरी फन्फनी बेरेर बाँधौं सम्भव भए हात वा खुट्टाको औंला बाट बेर्न शुरु गरी पुरै हात वा खुट्टा छोपिने गरी बेरेर राखौं यसो गर्नाले रक्त संचार कम हुन् गई विष चाँडो फैलन पाउदैन।
  • यदि सर्पलाई अघि नै मारी सकेको भए त्यसको पहिचानको लागि मरेको सर्पलाई पनी बिमारी संगै उपचार केन्द्रमा सुरक्षित तवरले लैजाउँ।
  • बिमारीलाई हतोत्साहित हुन नदिन सान्तवना एवं ढाडस दिदै जतिसक्दो चाँडो मोटरगाडी, नभए मोटरसाइकल बाट विष प्रतिरोधी औषधी उपलब्ध भएको सर्पदंश उपचार केन्द्र लैजाउँ।

के नगर्ने ?

तल उल्लेखित तरीकाहरु वैज्ञानिक आधारहीन भएकाले यस्ता भ्रामक कुराहरुको पछी नलागौं।

  • सामाजिक संजाल तथा कतिपय मिडियामा आएका भ्रामक समाचारहरु जस्तो सुइरो (निडल) विनाको सुई (सिरिन्ज)को मद्दतले सर्पले डसेको ठाउँको रगत तानेमा सर्पको विष सम्पूर्ण रुपमा बाहिर निस्कन्छ भन्ने जस्ता समाचार भ्रामक हुन्। विषालु सर्पले डस्ने बित्तिकै (डसेको केवल तिन मिनेट पछि) सुईको मद्दतले विष तान्ने कोशिस गरेता पनि विषको अतिनै थोरै मात्रा (एक हजार भागको एक भाग जति) मात्र निकाल्न सकिन्छ। अझ मुखले डसेको ठाउँको रगत चुस्नु भनेको त आफ्नो ज्यानको जोखिम आफै खतरामा पार्नु हो। तसर्थ यस्ता क्रियाकलापको पछाडि लागेर ज्यानको जोखिम नमोलौं।
  • सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइ को खतरा नमोलौं। यस्तो कोशिसले उपचारमा ढिलाई भई बिमारीकोज्यानै समेत जान सक्दछ। डाक्टरले बिमारीको लक्षण तथा प्रयोगशालामा रगत, र्याल आदिको परीक्षण मार्फत सर्पको विषको प्रकार पहिचान गर्न सक्दछन्।
  • अविषालु सर्पले डसेको भएता पनी विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, रबर, विद्युतीय तार, आदिले हात खुट्टा कसेर नाबाँधौँ जसले गर्दा उक्त अंगहरुमा रक्त प्रवाह बन्द भइ पछी हात खुट्टा नै बिग्रिएर काट्नुपर्ने सम्मको अवस्था आउन सक्छ।
  • सपेरा वा अन्य व्यतिले तन्त्र-मन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी भनिने जस्ता वस्तुहरुको भर नपरौं।
  • विषालु सर्पले डसेको व्यक्तिलाई जाँड, रक्सी, अन्य तातोपानी या कुनै पनि प्रकारको झोलिलो वा ठोस खाद्यपदार्थ खान नदिउँ।अन्यथा शरीरमा हुने रासायनिक प्रतिक्रिया (मेटाबोलिजम) मा वृद्धि भई विष चाँडो फैलन सक्ने खतरा हुन्छ।
  • विषालु सर्पले डसेको व्यक्तिलाई खोर्सानी खुवाउँदा पिरो महशुस हुदैन भन्ने धारणा गलत हो त्यसैले यस्तो कार्य नगरौं।
  • सर्पले डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाएमा विष चुस्छ भन्ने धारणा पनी गलत हो।त्यसैले यस्तो कार्य नगरौं।
  • सर्पले डसेको ठाउँमा बरफ तथा कुनै पनि चिसो वस्तुको प्रयोग नगरौं, किनकि अध्ययनका अनुसार यस्तो गर्नाले बढी हानि हुने देखिएको छ।
  • अनावश्यक रुपमा धामी-झाक्री, झार-फुक तथा जडी-बुटीको पछि लागेर महत्वपूर्ण समय खेर नफालौं, जसका कारणले उपचारमा ढिलाइ भई बिमारीको मृत्यू हुनसक्छ।
  • सर्पले डसेको ठाउँलाई ढाकेर (छोपेर) नराखौं साथै उक्त ठाउँमा धारीलो वस्तुले काट्ने, चिर्ने, आगो अथवा कुनै तातो वस्तुले डाम्ने, तातोपानीमा वा अमिलो दुधमा डुबाउने नगरौं यसो गर्नाले विषमा कुनै असर पर्दैन, बरु उल्टै अनावश्यक रुपमा संक्रमण हुने, रक्तश्राव हुने र समयको बर्बादी हुने गर्दछ।
  • कथित नागमणि, झारमौरो, घरायसी तथा जङ्गली झारपात तथा जडीबुटीको प्रयोग गरी वा बिजुलीको झट्का दिएर उपचार गर्ने कोशिस नगरौं, यसले बिरामीलाई उल्टै नराम्रो असर पार्न सक्छ।
  • सर्प विषालु हो वा होइन पत्ता लगाउन तर्फ नलागौं यसो गर्नाले अनावश्यक रुपमा महत्वपूर्ण समयको बर्बादी भई समयमा उपचार नापाउनाले व्यक्तिको मृत्यु समेत हुनसक्छ। त्यसैले जति सक्दो चाँडो बिरामीलाई अस्पताल पुर्याऔं।

अतः सर्पले डसेमा यी कुरा याद राखौं आत्तिने नगरौं, शान्त रहने कोशिस गरौँ, डसेको भागलाइ स्थिर पारी बेलैमा अस्पताल वा विष प्रतिरोधी औषधि उपलब्ध हुने स्थानमा पुगौं।

सन्दर्भस्रोतहरु:

  1. Rai, Tapil& Adhikari, Sabin & García-Antón, Pablo. (2022). An Updated Checklist of Amphibians and Reptiles of Nepal. 23. 3-23.
  2. Sharma, Sanjib & Pandey, Deb & Shah, Karan & Tillack, Frank & Chappuis, François & Thapa, Chhabilal&Alirol, Emilie & Kuch, Ulrich. (2013). Venomous Snakes of Nepal. A photographic guide.
  3. WHO (2023). Snakebite envenoming.

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर