खबर पूर्वाञ्चल
यूएनएफपीसँगको साझेदारीमा एवीसी नेपालद्वारा सञ्चालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्दै कार्कीले लैंगिक विभेदमा आधारित हिंसा रोक्न घरपरिवार बढी जिम्मेवार हुनु आवश्यक रहेको बताइन् ।
त्यस्तै कार्कीले लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले परियोजनालाई निरन्तरता दिन महानगरले जस्तो सुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारिन् । कार्कीले हिंसा हुनै नदिने गरी काम गर्नुपर्नेमा जोड दिइन् । समाजमा महिला र पुरुष दुवैमाथि हिंसा हुने गरेको उनको भनाइ थियो ।
‘लैंगिक हिंसाबाट महिलामात्रै पीडित छैनन्, पुरुष पनि पीडित छन्,’ उनले भनिन्, ‘जुनसुकै किसिमबाट हुने हिंसा रोकथामका लागि महानगर सहयोग गर्न तयार छ ।’ यूएनएफपीएको साझेदारीमा सञ्चालित परियोजनाको समय अब ९ महिनामात्रै बाँकी छ । परियोजनाको समय सकिएपछि कसरी अगाडि बढ्ने भन्ने चिन्ता नलिन कार्कीले आग्रह गरिन् । ‘ढुक्क भएर तपाईंहरू काम गर्नुहोेस् । आर्थिक अभावले परियोजना रोकिनु भएन,’उनले भनिन् ।
परियोजनामार्फत पछिल्लो तीन महिनाको अवधिमा परियोजना अन्तर्गत १ सय ३ जनाले सेवा लिइएको एवीसी नेपालकीअध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिइन्। उनकाअनुसार परियोजना सञ्चालित विराटनगरसहितओखलढुंगा र उदयपुरबाट १ सय ३ जनाले सेवालिएका छन् ।
विराटनगरमहानगरसहित ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा परियोजना सञ्चालनमा रहेको उनले जानकारी दिइन् । जसअन्तर्गत ३ महिनामा ओखलढुंगामा २४, कटारीमा १६ र विराटनगरमा ६३ जनाले सेवा लिएका छन् । सेफ हाउसमा संरक्षणका साथै कानुनी र मनोपरामर्श, स्वास्थ्य उपचार, आवश्यक कानुनी सहयोगलगायतको सेवा प्रदान गरिएको शर्माले जानकारी दिइन् ।
बलात्कार, घरेलु हिंसा, बहु विवाहलगायतबाट पीडित भएका व्यक्तिहरूले सेवा लिएका छन् । धेरैजसो घरेलु हिंसाबाट पीडित भएका व्यक्ति सेवा लिनआउने गरेको उनले बताइन् । यस्तै सोही अवधिमा १४ जनालाई कुटानी पिसानीसम्बन्धी तालिम दिएर बिऊ पुँजीसमेत उपलब्ध गराइएको छ । एवीसी नेपालकी कार्यक्रम विज्ञ गीताञ्जली शर्माका अनुसार ओखलढुंगाबाट ३, कटारीबाट ३, झापाबाट १ र विराटनगरबाट ७जनालाई तालिम दिएर कुटानी पिसानी मेसिन वितरण गरियो । यस अवधिमा परियोजनाको विराटनगर शाखाबाट १ जनालाई कम्प्युटर तालिम दिइएको थियो ।
कार्यक्रम विराटनगर महानगरको राजस्व महाशाखाका प्रमुख सरोज गौतम, कानुन शाखाकी प्रमुख शारदा थपलिया, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनी, यूएनएफपीएका मोरङ प्रमुख सरोज भुषाल, ओसीएमसीकी अनिताकुमारी राउत, सीएमसी नेपालकी पूजा भण्डारी, ओरेक नेपालका विशाल बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेलकी गीता दाहाललगायतले लैंगिक हिंसा घरपरिवारबाटै हुने गरेको बताए । उनीहरूले लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि सचेतना जगाउनु आवश्यक रहेको औंल्याए । लैंगिक हिंसा रोक्न घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड थियो ।