खबर पूर्वाञ्चल
फागुन ५ गतेदेखि सुरु भएको कार्निभल आज विधि कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए ।
अभिभावकलाई सम्बन्धित परियोजनाहरुको विषयमा जानकारी गराउँदै विभिन्न खेल खेलाएर मनोरञ्जन प्रदान गरेका थिए । रोबर्ट, अटोमेटिक सेन्सरयुक्त कारदेखि लिएर एण्टि थेप्ट साइरन, आगलागि सम्बन्धि जानकारी दिने उपकरण जस्ता उपकरणहरु प्रर्दशनीमा राखिएको थियो । विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए । अवलोकनपछि अभिभावक मन्दिरा थापाले विद्यार्थीहरुले सिकेका कुराहरुको प्रदर्शनी गर्दै अभिभावकहरुलाई गरेको ब्रिफिङले उनीहरुमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन्। बालबालिकाका विभिन्न परियोजना कार्यहरु, सांस्कृतिक कार्यक्रम र गायन, तथा नृत्य हेर्दा एभरेष्ट स्कुलले बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिएको अनुभूति भएको उनले प्रतिकृया दिइन्।
यस्तै कार्निभलको दुई दिन नै सहभागिता जनाएका अभिभावक विशाल श्रेष्ठले कार्निभललाई विद्यार्थीहरुको लागि एउटा आफ्नो क्षमता अभिभवृद्धिका लागि अवसरको रुपमा आफुले बुझेको बताए। उनले भने, कार्निभल विद्यार्थीहरुको लागि नयाँ कुरा सिक्ने र बुझ्ने प्लेटफर्मको रुपमा लिन सकिन्छ, यस्ले विद्यार्थीहरुको मनोबल बढाउन समेत सहयोग गर्छ ।’
बालबालिकाकालाई संस्कारयुक्त बनाऔं ।
एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकालाई संस्कारयुक्त बनाउनुपर्ने बताए । आज कार्निभल २.० लाई सम्वोधन गर्दै उनले अभिभावकहरुसँग आग्रह गर्दै भने, ‘हाम्रा बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्छ, त्यसैले मेरो अभिभावकसँग आग्रह छ, हामी पनि मेहनत गर्छौं तपाईहरुको पनि सहयोग रहोस् ।’ विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उनले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह समेत गरे।
संस्कार नभए नैतिकता, नैतिकता नभए बौद्धिकताको अर्थ नरहने भन्दै उनले एभरेष्टले शिक्षासँगै सीप र संस्कारलाई समेत प्राथमिकतामा राखेको बताए। प्रिन्सिपल पुरीले बालबालिकालाई नैतिकवान बनाउन कक्षा ६ देखि ९ सम्म नैतिक शिक्षाको पाठ्यक्रम नै तयार गरेर अध्यापन समेत गराउँदै आएको बताए । उनले विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको आवश्यकता महशुष गर्दै भौतिक संरचनासहित सुविधा सम्पन्न शिक्षणसंस्थाको रुपमा एभरेष्टलाई स्थापित गरेको बताए। उनले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी सबैको मेहनतबाट नै एभरेष्ट यहाँसम्म आइपुगेको भन्दै यसलाई समयसापेक्ष विकास गर्दै अघि बढ्ने बताए। उनले बालबालिकाहरुमा मोबाइल, ग्याजेट, ल्यापटपजस्ता कुराले पठन संस्कृति ह्रास हुँदै गएकाले पढ्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको तर्क गर्दै अभिभावकलाई सोहि अनुसारको वातावरण बनाईदिन समेत आग्रह गरे। उनले भने,‘ हामीले कोर्ष बाहेकका अतिरिक्त पुस्तकहरु किन्न लगाएका छौं, त्यसलाई पढ्न तपाईहरुले पनि उत्प्रेरित गरिदिनुपर्यो ।
प्रिन्सिपल पुरीले नैतिक शिक्षासँगै संस्कृत विषय अध्ययापन गराउनुपर्ने होकी भन्ने लागिरहेको भन्दै त्यस विषयमा अभिभावकका राय बुझेर निर्णय लिने बताए। यस्तै उनले बालबालिकालाई खुसी बन्न अभिप्रेरित गर्न ‘ह्यापिनेश’ कक्षा समेत सञ्चालन गर्ने बताए। अहिले रातो बंगला फाउण्डेसनसँगको सहकार्यबाट प्रयोगात्मक सिकाई र काराखानासँगको सहकार्यमा अनुसन्धान, अन्वेशषणलाई प्राथमिकता दिइएको जानकारी गराउँदै उनले बालबालिकालाई कम्तिमा एउटा अतिरिक्त कृयाकलापमा समेत सहभागि गराउँदै आएको बताए।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रमा महत्वूर्ण योगदान गरेको भन्दै युग सापेक्ष सबैले रुपान्तरित हुँदै अघि बढ्नुपर्ने बताए। कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, सह प्राचार्यद्वय टीएन भण्डारी, नारायण कडरियालगायतले बोले।
श्रेयांश, आरोही र युनिशालाई एभरेष्ट सिङ्गिङ आइडल २०८० को उपाधि
एभरेष्ट स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडलको ग्राण्ड फिनाले २०८० आज सम्पन्न भएको छ । एभरेष्ट कार्निभल २.० को समापन समारोहमा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले सम्पन्न भएको हो । संगितकार तथा गायक रामा मण्डल र गायीका गंगा गौतम निर्णायक रहेको ग्राण्ड फिनालेमा तीन समूहबाट तीन जना विजेता भएका छन् । कक्षा १ देखि ५ सम्मको समूहबाट कक्षा ५ कंचनजंघाका श्रेयांश खड्काले उपाधि जितेभने सोहि कक्षाका निपुन काफ्ले दित्तिय र कक्षा ३ गौरीशंकरका आर्यमन दुलाल तेस्रो भए।
यस्तै कक्षा ६ देखि ८ को समूहबाट कक्षा ६ माछापुच्छ्रे की आरोही तिम्सिना प्रथम, कक्षा ८ धौलागिरीकि कृषा पोखरेल दित्तिय र कक्षा ६ सगरमाथाका शिवम् पगैया तृृतिय भए। कक्षा ९ देखि १२ सम्मको समूहबाट कक्षा ९ अन्नपूर्णकी युनिशा न्यौपानेले उपाधि जितिन् । कक्षा १२ स्मिथकी आर्या गुभाजु दित्तिय हुँदा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य तृतिय भए।
तीनवटै समूहका प्रथम दित्तिय र तृतियले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् । ग्राण्ड फिनालेमा निर्णायकद्वय मण्डल र गौतमले समेत आ–आफ्ना प्रस्तुतीहरु राखेर विद्यार्थी, अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन प्रदान गरे।