AArya
animated ellipse animated ellipse

बढ्दैछ एमबुलेन्स चालकको लापरवाही

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०८०, आईतवार ०८:१८
333
Shares
विराटनगर /बिरामीको सेवामा प्रयोग हुने एम्बुलेन्सका चालकहरू एकपछि अर्को गरी मादक पदार्थ सेवन(मापसे)मा पर्ने गरेको घटना बढ्न थालेको समाचार आजको उद्घोष दैनिकले छापेको छ । मापसे गरी सवारी चलाउँदा उनीहरू आफैले दुर्घटना गराएका घटनासमेत बाहिरिएका छन् ।

बिहीबार बेलुका एक जना एम्बुलेन्स चालक रक्सी पिएर मातेको अवस्थामा पक्राउ परेका छन् । रक्सीले मथ्थु भएका ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनिल राजवंशीलाई विराटनगरको कोशी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सवारी चलाउनबाट रोक्न खोज्दा सुनसरी दुहबी–४ का २८ वर्षीय एम्बुलेन्स चालक राजवंशीले प्रहरीलाई नै अभद्र ब्यवहार गरेका थिए । त्यसपछि प्रहरीले उनको मेडिकल गरी कोशी अस्पतालबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई बिरामी लिएर अस्पताल आएपछि अस्वभाविक हर्कत गरेको देखेर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

राजवंशीलाई अभद्र ब्यवहार कसुरमा ७ दिन थुनामा राखेर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार अनुमति लिइएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए । ‘एम्बुलेन्स अति सम्वेदनशील विषय हो, प्रहरीले रोक्दैन भनेर पनि मादक पदार्थ सेवन गरेर लापरवाही गरेको पाइयो’ उनले भने ।

यसअघि कोशी अस्पतालअगाडिबाटै को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक विराटनगर–५ का सफल मुर्मु सतार पक्राउ परेका थिए ।

मादक पदार्थ सेवन गरेर मुर्मुले चलाएको एम्बुलेन्सले को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै सडक किनारको पसलमा समेत क्षति पुर्याएको थियो । उनलाई कारवाहीपछि जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ धरौटीमा छाडेको छ ।

केही वर्षअघि नोबेल मेडिकल कलेजको एम्बुलेन्स भारतबाट नेपालतर्फ लागुऔषध आयात गर्ने कार्यमा संलग्न पाएर प्रहरीले पक्राउ गरी कारवाही गरेको थियो । एम्बुलेन्स भारतबाट आयात गर्दा भन्सार महशुल लाग्दैन । कतिपय संघसंस्थाले एम्बुलेन्स सञ्चालनको सम्पूर्ण जिम्मेवारी चालकलाई नै दिने भएकाले त्यसका मालिकका रुपमा चालक स्वयं रहन्छन् ।

कानुनले एम्बुलेन्स, सार्वजनिक सवारी वा निजी सबै साधनका चालकलाई समान कारवाहीको व्यवस्था गरेको छ । नायव उपरीक्षक दाहालले एम्बुलेन्स चालकले मादक वा लागुपदार्थ सेवन गरी बिरामी र सडक प्रयोगकर्तालाई जोखिम पुर्याएको बताए । कतिपय सरकारी स्वास्थ्य संस्थाका एम्बुलेन्स चालकले पनि लापरवाही गर्ने गरेको पाइएको छ ।

विराटनगर महानगरपालिकाले प्रसूतिका लागि मात्रै एम्बुलेन्स सञ्चालनमा राखेको छ । तर, त्यसका चालकको लापरवाहीका गुनासो आउने गरे पनि राजनीतिक आडका कारण उनी कारवाहीबाट जोगिदै आएका छन् । प्रसूति ब्यथामा रहेकी महिलालाई विराटनगर–४ दूधफारममा घरको गेटमा एम्बुलेन्स नलगी केही परसम्म हिंड्न लगाएपछि चालकको गुनासो महानगरमा पुगेको थियो ।

एम्बुलेन्स चालकमा लापरवाही हुनुमा अनुभवी नहुनुलाई पहिलो कारण मान्ने गरिएको छ । सवारी चालक अनुमतिपत्र लिएको दुई महिनामै एम्बुलेन्स चालक बनाइनु र बिरामी ल्याएवापत कमिसन दिइनुले पनि उनीहरूमा लापर्वाही देखिएको हो ।

एम्बुलेन्स चालक संघ मोरङका निर्वतमान अध्यक्ष आनन्द विक जिम्मेवार र दक्ष चालकलाई मात्रै एम्बुलेन्स दिने गरिए समस्या घटेर जाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर