विराटनगर / मानव वेचविखन तथा ओसार प्रसार नियन्त्रणका लागि मोरङ जिल्लाको भारतसँग जोडिएको ६३ किलोमिटर खुल्लासीमामा व्यवस्थित रुपमा निगरानी हुनु पर्ने बताइएको छ ।
मानव वेचिवखन विरुद्धको जिल्ला कार्य समिति मोरङद्वारा आज विराटनगरमा आयोजित मानव वेचिवखन तथा ओसार प्रसार विरुद्धको १७ औं राष्ट्रिय दिवसको उपलक्ष्यमा सामाजिक न्याय र आर्थिक सशक्तिरकण : मानव वेचिवखन निर्मूलन विषयक अन्तर सम्वाद कार्यक्रममा सहभागीहरुले वेचविखन नियन्त्रणका लागि यस क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाहरु वीच समन्वय कायम गरी कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
उच्च अदालत विराटनगरका न्यायाधीश दिनेशकुमार यादवले मानव वेचविखन कलङपूर्ण कार्य भएकोले यसको नियन्त्रणका एवं निर्मूल गर्न सबैको सहयोग आवश्यक रहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले वेचविखन जस्तो समाजमा रहेको विकृति हटाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गरे ।
जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, सामाजिक मन्त्रालयकी दुर्गा भण्डारी वराल, मानव अधिकारी आयोगका कोशी प्रमुख पवन भट्ट, एविसि नेपालकी कोशी अध्यक्ष विष्णु पन्त शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रपि अधिकारीले सीमा क्षेत्रबाट हुने वेचविखन कार्य नियन्त्रण गर्न सूचना प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिए ।
सन् २०२२ मा विराटनगरको राना नाकाबाट १३७ जना महिलालाई उद्धार गरिएको थियो भने सन् २०२३ को आठ महिनामा ११३ जनालाई उद्धार गरिएको माईती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिए ।
उद्धार गरिएका मध्ये मोरङका ४०, सुनसरीका १८ र झापाका १० जना तथा अरु अन्य जिल्लाका रहेका छन् ।