खबर पूर्वाञ्चल
‘स्वास्थ्यका लागि खेलकुद’भन्ने मूल नाराका साथ सानिमा जि आइसी इन्स्योरेन्सले अन्तर बैंक प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । प्रतियोगिताका संयोजक निराजन बस्नेतका अनुसार माघ १४ देखि फागुन ६ गतेसम्म अन्तर बैंकबीच फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका खेलहरु शनिबार मात्रै हुने बताउँदै, संयोजक बस्नेतले भने, ‘अन्तर बैंकबीच खेल हुने भएकाले प्रत्येक शनिबार मात्रै गर्न लागिएको हो । अन्य दिन अफिसको काममा व्यस्त हुने भएकाले विदाको दिन पारेर प्रतियोगिता गर्न लागेका हौं ।’
विराटनगर महानगरपालिका–१ स्थित परोपकारघाटको खेल मैदानमा हुने प्रतियोगितामा आयोजक संस्थासहित ८ वटा बैंकको सहभागिता रहेको छ । विजेताले २२ हजार २ सय २२ र उपविजेताले ११ हजार ११ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने खेल संयोजक बस्नेतले जानकारी दिए । माघ १४ गतेको उद्घाटन खेल नबिल बैंक र सनराइज बैंकबीच हुनेछ ।