खबर पूर्वाञ्चल
फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नपा २ का ३८ बर्षीय सुमनकुमार कार्की (योजनाकार), झापा कन्काई नपा ३ का ४१ बर्षीय भिष्म थापा, दमक नपा ९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई नपा ४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी नपा १ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी नपा १० घर भई हाल सुन्दरहरैचा ६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दाहाल, झापा गौरिगञ्ज गापा ३ का ३२ बर्षीय आन्नद भन्ने अनन्तप्रसाद गिरी, गौरादह नपा ५ का ३३ बर्षीय प्रदीप थापा र गौरीगञ्ज गापा ३ का ४५ बर्षीय विजयकुमार दास हलुवाई रहेका छन् ।
झापाको विर्तामोड नगरपालिका ४ स्थित पश्चिम बस स्टेण्डमा मिति माघ ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु फेला परेको र दमक नगरपालिका ५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चाहरु माघ १३ गते फेला परेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह , जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भई घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका ब्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रीय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छापहरु १० थान, विभिन्न कम्पनीका ७ थान मोवाइल फोन समेत बरामद भएको हो ।
पक्राउ परेका ९ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।