धूलो, हिलो र फोहर रहित अब बन्दैछ विराटनगर

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७६, आईतवार ०७:५८

विराटनगरर/ एक वर्ष अगाडि विराटनगरका कुनै पनि सडक हिँड्नसक्ने अवस्थामा थिएनन् । हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रु, सवारी साधन र नगरबासीले पनि सास्ती पाइरहेका थिए । धुलो र हिलोका कारण नागरिकहरु आक्रान्त थिए । यो समाचार आजको  हाम्रो मत दैनिकले छापेको छ ।

अहिले भने विस्तारै अवस्थामा सुधार हुँदै आएको छ । महानगरपालिकामा सडक, नाला तथा ढल निकास पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि नागरिकले राहत पाएका छन् । लामो समयदेखि जीर्ण भएका सडक यतिबेला स्तरीय देखिन थालेका छन् । हिँडडुल गर्नसमेत कठिन हुने सडकहरु कालोपत्रे भएका छन् ।

कालोपत्रे सडकको संख्या थपिदै गएपछि वायु मण्डलमा धुलोका कणहरु घट्दै जान थालेको छ । क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तर्गत सन् २०१७ अक्टोबरदेखि सुरु भएको परियोजना आउँदो १८ मे २०२० मा सम्पन्न हुँदैछ । ३ अर्ब ९९ करोड लागतको परियोजना अन्तर्गत सडक, नाला निकास, ढल तथा सडक फुटपाथ निर्माणको काम भइरहेको छ ।

एशियाली विकास बैंकसँगको सहकार्यमा महानगरले नाला निकास तथा सहरको ढललाई व्यवस्थितरुपमा प्रशोधन केन्द्रसम्म लैजाने काम अगाडि बढेको हो । ढल विस्तारका क्रममा विराटनगरको ६५ किलोमिटर सडक भत्काइएकोले ३ वर्षभन्दा बढि समय नागरिकले सास्ती पाए । निर्माणको काममा भएको ढिलाई र धुलो नियन्त्रणको प्रयास असफल हुँदा महानगर नेतृत्वप्रति नागरिकको आक्रोश थियो । महानगरले सडकमा पानी हालेर नियन्त्रणको प्रयास गरेको थियो ।

परियोजनाको सम्झौता अवधि सम्पन्न हुन तीन महिना बाँकी छ । अहिलेसम्म ७९ प्रतिशत प्रगति हासिल गरेको छ । अबको तीन महिनामा परियोजनाका सम्पूर्ण काम सम्पन्न हुने परियोजनाका प्रमुख इन्जिनियर भरत न्यौपाने बताउनुभयो ।

परियोजना अन्तरगत ४२ किलोमिटर ढल निर्मााण गरिएको छ । मुख्य बजार क्षेत्रलाई समेटेर व्यवस्थित ढल निकासको अन्तिम चरणको काम भइरहेकोले छिट्टै परिक्षण हुनेछ । जतुवा स्थित सिंघीया खोला किनारमा ढल प्रशोधन केन्द्र (ट्रिट्मेन्ट प्लान्ट) निर्माण भइसकेको छ । तीनपैनीदेखि दक्षिण मेनरोड र आसपासका सबै सडकहरु, बरगाछी चोकदेखि महेन्द्रचोक, बसपार्क हुँदै जतुवासम्म ढल जडानको काम भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Bikash Khanal लेख्नुहुन्छ

    २१% काम ३ महिनामा सक्ने योजना आफैं मा संकास्पद देखिन्छ।