खबर पूर्वाञ्चल

आज विश्वविद्यालयको २६ औं वार्षिकोत्सव तथा रजत महोत्सव समापन समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले विश्वमा आवश्यक पर्ने विषयहरुको अध्ययनको केन्द्रको रुपमा विकास गरी नेपालमा अध्ययन गरेको सन्देश विश्व समुदायमा पस्कने बातावरण सिर्जना गर्न सवैलाई आग्रह समेत गरे ।
प्रदेश प्रमुख प्यासीले विश्वविद्यालय नयाँ कुरा सिक्ने र अनुभव गर्ने ठाउँ भएकाले विस्मृतिमा परेका ईतिहासलाई स्मृतिमा ल्याउने बिषय तर्फ पनि सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । निजी क्षेत्रलाई आकर्षण गरी मोरङको गोठगाउँमा तीन सय शैय्याको अस्पताल निर्माण गरी चिकित्सा अध्ययन शुरु गर्नु पर्नेमा जोड दिदै प्रदेश प्रमुख प्यासीले प्रदेशका जिल्लाहरुका प्राविधिक तथा व्यवसायिक शिक्षाको माग यसले प्रत्यक्ष रुपमा पूरा गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
‘ज्ञान र विज्ञानवाट मानिसको जीवन सार्थक बनाउने मुख्य साथीे विश्वविद्यालय ’ भएको हुंदा म होइन मेरोको सोचले गुणस्तरीय शिक्षा प्रवाहवाट देश , समाज,विद्यार्थीमा सम्मान आर्जनका लागि सवैको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख प्यासीले बताए । समस्या समाधानका लागि हामीभित्रको अहमता त्याग्नु पर्नेमा जोड दिदै प्रदेश प्रमुख प्यासीले गुणस्तरीय अध्यापनको आवश्यक्तालाई हामी सवैले प्रतिवद्धता जाहेरी गरी हाम्रो विश्वविद्यालय वनाउन आग्रह गरे ।
प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीय र प्रदेश सरकारको पहलमा प्रदेश अस्पताल(कोशी)को प्रयोग गरी विश्वविद्यालयले चिकित्सक शिक्षा अध्ययन शुरु गर्ने निर्णय चाँडै गरिने जानकारी दिदै समृद्धिसंग जोडिएको यो संस्थामा रहेको कमी कमजोरीको सुधार गरिने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वविद्यालयले अनुसन्धानमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिदै विद्याथीको विदेश पलायनलाई रोक्न उनीहरुमा रहेका सिर्जनशील क्षमता प्रयोगका लागि आग्रह गरे । मन्त्री घिमिरेले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकसित गर्न सबै पक्षले ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताए ।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा बिजुकुमार थपलिया,रजिष्टार प्रमिला थापा, कला संकयका डिन शम्भुप्रसाद कोइराला, प्राध्यापक सङ्घका अध्यक्ष डा. सन्देशदास श्रेष्ठ र कर्मचारी सङ्घका अध्यक्ष राजकुमार सापकोटा चिकित्सा शिक्षा सञ्चालनका लागि १ सय ५० शैय्याको अस्पताल निर्माण भइरहेको जानकारी दिए ।
सो अवसरमा कार्यवाहक उपकूलपति प्राडा. थपलिया, व्यवस्थापन क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.उत्तम रेग्मी, पूर्व रजिष्टार डा. भेषणप्रसाद धमला पूर्वसेवा आयोगका प्रमुख मरणोपर्यान्त बैजनाथ थपलिया,, पूर्व रजिष्ट्रारहरुलगायत २० वर्ष सेवा अवधि कार्य गरेका कर्मचारी, खेलकूद प्रतियोगितामा विजयी खेलाडीलाई सम्मान गरिएको थियो ।
विश्वविद्यालयले यस वर्ष उत्कृष्ट कलेजमा ख्वापाः इन्जिनयरिङ कलेज भक्तपुरलाई घोषणा गरि सम्मान गरेको छ ।
विश्वविद्यालयमा १२२ कलेज आवद्ध रहेका मध्ये ७१ वटाले प्राविधिक विषयमा पठन अध्यापन गराइरहेका छन् । विश्वविद्यालयमा ३० हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।