पूर्वाञ्चल खबर
चाडबाडको सन्दर्भमा सहरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने बेलामा सडक तथा विद्युत् पोल सार्न थाल्दा सहर कुरुप बनेको हो ।

विगतका वर्षहरुमा तिहारको सन्दर्भमा हुने झिलिमिली र सरसफाई मनग्ये हुने गरेको थियो । तर, यो वर्ष भने मेनरोडमा भएको विकास निर्माणले सहर धुलाम्य र फोहोर देखिएको छ । सडक निर्माणकै कारण व्यापार हुने अहिलेको समयमा पनि मानिस नआएको र सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय व्यापारी जयन्त बोथरा बताउँछन् । ‘दिनभर लाइन आउँदैन, इन्टरनेट पनि आउँदैन, पोल सार्न थालिएको छ, सडक अगाडि खाल्डो खनेर माटो थुपारिँदा समस्या भयो,’ बोथराले भने, ‘चाडबाडको बेला यस्तो कुरुप बनाउनु हुँदैनथियो ।’
पसलमा दिनभर विद्युत्को लाइन आउँदैन, इन्टरनेटको लाइन पनि छैन र केबलको लाइन पनि हुँदैन । पसल छिर्ने बाटोमा असरल्ल छरिएका तारले गज्याङ् गुजुङ देखिन्छ र यात्रुलाई हिंडडुलमा पनि समस्या पर्ने गरेको छ । ‘२/३ वर्ष नगर्दा भयो, तिहारकै समयमा पोल सार्नुपर्ने, ढल खन्नुपर्ने के को हतारो भयो ? तिहार पछि गर्दा पनि त हुने थियो नि,’ बजारमा हिंडिरहेका यात्रु सुदिप दाहाल भन्छन् ।
चाडबाडको बेला धेरै कारोबार गर्नुपर्ने बैंकलाई पनि इन्टरनेटको समस्याले पिरलो परेको छ । बैंकमा ३ घण्टा लाइनमा बस्दा पनि सिस्टम नभएको भन्दै फर्काएको गुनासो गर्छन् विराटनगरका सेवाग्राही राजेन्द्र खनाल । ‘चाडबाडको बेला पैसा चाहिएर बैंक आएको सिस्टम छैन भनेर फर्काइदिए,’ खनालको भनाइ छ, ‘किन भन्दा पोल सार्दै गरेको रे, तार काटिएको छ, जोडेर आउँछ भन्छन् ।’
चाडबाडको समयमा व्यापार व्यवसाय तथा सर्वसाधरणलाई असर नपर्ने गरी गर्नुपर्ने विकास निर्माणको समयतालिका भने नमिलेको सरोकारवाला बताउँछन् । यता विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने भित्री सडकको अवस्था कुरुप नभएको र सडक तथा पोल निर्माणको काम तीब्र रुपमा गरिएको जानकारी दिए । ‘अहिले म बजार अनुगमनमै छु, काम तीब्र गतिमा छ, तपाईले भनेजस्तो सहर कुरुप छैन,’ पराजुलीले भन्नुभयो, ‘तिहारमा सँधैझै विराटनगर सफा र रमणीय हुन्छ ।’
जथाभावि खनिँदा असहज
परियोजनाले हाल विराटनगरको मुख्य शहरी क्षेत्रमा ढल, नाला र सडक निर्माणको काम गरिरहेको छ । परियोजनाले ढल, नाला तथा सडक निर्माणका लागि एकै पटक शहरका सबै सडक भत्काउ“दा विराटनगर अस्तव्यस्त बनेको छ । मुख्य शहरी क्षेत्रमा आवगमन असहज छ । वाइपास सडकसमेत नराखि एकैपटक शहरभित्रका सबै सडक भत्काइएकाले शहरको दैनिकी कष्टकर बनेको छ ।
शहरभित्रका कुनै पनि सडकमा यात्रा गर्न त्यति सहज छैन । निर्माणधिन सडकमा जताततै अबरोध, ट्राफिक जाम र धुलोले स्थानिय हैरान भएका छन् । क्षेत्रीय शहरी विकास परियोजनामार्फत विराटनगर महानगरपालिका क्षेत्र भित्रको ७४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ । जसमध्ये मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाले ढल नाला निर्माण गरेको स्थानका सडक कालोपत्रे भइरसकेको छ । यस्तै क्षेत्रीय शहरी विकास परियोजनाले ढल नाला निर्माणस“गै सडक कालोपत्रेको कामलाई तिब्ररुपमा अघि बढाइरहेको परियोजनाले जनाएको छ ।
निर्माणअवधि थप्ने तयारी
एशियाली विकास बैंकको सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास परियोजना समयमै सम्पन्न नभए पछि म्याद थप्ने तयारी गरिएको छ ।
निर्धारित समयमा काम सम्पन्न हुने अवस्था नभए पछि म्याद थप गर्ने तयारी गरिएको परियोजनाले जनाएको छ । २ अर्ब ६३ करोड रुपैया“मा ठेक्का लागेर सन् २०१७ को नोवेम्बर २ मा निर्माण सुरू गरी परियोजनाले विराटनगरको मुख्य बजार क्षेत्रको ढल, नाला तथा सडक कालोपत्रेको काम १ नोवेम्बर २०१९मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विद्युत पोल सार्न ढिलाई, बजेट निकासीमा ढिलाईलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको हो ।
परियोजनाका अनुसार सेक्टेम्बर सम्ममा कालोपत्रेको काम ५२ प्रतिशत मात्रै सम्पन्न भएको छ । यस्तै ढल निर्माणको काम ८८ प्रतिशत सम्पन्न भइसकेको छ । स्ट्रोम ड्रेन निर्माणको काम निर्धारित लक्ष्य अनुरुप सम्पन्न भइसकेको र रोड साईड ड्रेन निर्माणको काम लक्ष्य भन्दा १४ प्रतिशत बढी गरिएको छ । मुख्य गरी सडक कालोपत्रेको काम बा“की रहे पनि अन्य काम सम्पन्न भइसकेका कारण कालेपत्रेको कामलाई तिब्र पारिएको छ ।
विराटनगरमा ढल, नाला, सडक र फोहोर पानी प्रशोधन केन्द्र निर्माणका लागि यस अघि मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना सञ्चालनमा ल्याइएको थियो । मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना सम्पन्न भएस“गै सोहि कामलाई निरन्तरता दिंदै क्षेत्रीय सहरी विकास परियोजना सञ्चालनमा ल्याइएको हो ।
परियोजनाले चीनिया“ कम्पनी झोङ्हेङ कन्सट्रक्सनलाई ७४ किलोमिटर कालोपत्रेसहित मुख्य नाला च्याङवारी पैनी ७ सय मिटर, २०.८ किलोमिटर ढल र २६ कलिोमिटर सडक नाला निर्माण गर्न २ अर्ब ६३ करोड रुपैया“मा ठेक्का सम्झौता गरेको थियो । विराटनगरको भित्री सडकको कामस“गै, रानी—धरान ६ लेन सडक पनि निर्माणाधिन अवस्थामै रहेका कारण धूलो र हिलोका कारण विराटनगरवासीले चरम सास्ती खेप्दै आएका छन् ।