पूर्वाञ्चल खबर
विराटनगर /पाँचौ संस्करणको महिला साफ फुटबलको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई १ नम्बर प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।
फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाली राष्ट्रिय टिम भारतसँग ३- १ को गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो ।
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १/१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् ।
सम्मानित हुने खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेशसरकारले उच्च प्राथामिकता राखेर अगाडी बढेको बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकदु क्षेत्रमा सबैभन्दा बढी बजेट बिनायोजन गरेको जानकारी दिदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडी बढने बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकूदको व्यवस्थित विकासका लागि प्रदेश खेलकूद ऐन तयार गरेको जानकारी दिदै यसको उन्नतिका लागि यस वर्ष ४८ करोड वजेट छुट्याइएको जानकारी दिए ।
उनले विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रिय खेलकूद मैदान , धरानलाई प्रदेशस्तरीय खेल केन्द्रको सोचले सरकार अगाडि बढेको बताउदै खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा मुलुकको प्रतिष्ठान आर्जन गरी जिविका आर्जनको कार्य वनाउनपर्नेमा जोड दिए ।
अखिल नेपाल फूटवल संघ(एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, साफ महिला फूटवल प्रशिक्षक हरि खड्का र खेलाडी निरु थापाले प्रदेश नं. १ खेलकूदको उर्वरा भूमि रहेको वताउदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुख्यमन्त्री कप फूटवल प्रतियोगिता गर्ने जानकारी दिए ।