AArya
animated ellipse animated ellipse

पण्डित, मण्डल र मोदीको जीतमा विराटनगर प्रादेशिक राजधानी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७४, मंगलवार २०:०२
3
Shares
विराटनगर, २१ कार्तिक/ प्रदेशको निर्वाचन पश्चात प्रादेशिक राजधानी यकिन हुने संविधानमा व्यवस्था भएपनि यतिबेला १ नम्बर प्रदेशका विभिन्न जिल्लामा स्थानीय स्वार्थ, राजनीतिक दल र तिनका नेताहरुको दलगत तथा व्यक्तिगत स्वार्थमा राजधानी घोषणा गर्ने कार्य व्यापक भएको छ ।

संविधानमा निर्दिष्ट भएका विषय, त्यसले समेट्ने क्षेत्र भन्दा पनि राजनीतिक स्वार्थ हावी हुँदा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय नेताहरुले आफ्नै स्वार्थ अनुकुल डम्फु फुकिरहेका छन् । नेपालको संविधान २०७३ अनुसार प्रादेशिक राजधानीको विषयमा तोकिएको मापदण्ड, मापदण्ड पूरा नहुँदासम्म घोषणा गरिने अन्तरिम राजधानीजस्ता विषयको अध्ययन बिनै राजधानी यहाँ वा त्यहाँ हुनुपर्दछ भन्नु गलत हुने देखिन्छ ।

पछिल्लो समय विराटनगर राजधानी हुनु पर्दछ भन्ने माग यहाँका राजनीतिक दल भन्दा बढी सामाजिक क्षेत्रका संघ र संस्थाले उठाईरहेका छन् । नेपाली काँग्रेसका विराटनगर महानगर क्षेत्र र आपसास भित्रबाट उमेद्वारी भएका नेतारुले त झन् यसलाई व्यापक बनाएका छन् । जसले दोस्रो संविधानसभा निर्वाचनमा जीतेका छन् उनीहरुनै अहिले बढीभन्दा बढी जोड दिएर विराटनगर राजधानी हुनुपर्ने माग उठाउँछन् । तर, उनीहरु केन्द्रीयस्तरमा लविङ्ग गर्ने स्थानमा भने छैनन् ।

काँग्रेसले विराटनगर महानगरपालिका क्षेत्र भित्रका ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभामा जीत हाँसिल गरेको थियो । त्यसयता विराटनगर क्षेत्रको अवस्था उस्ताको उस्तै रहँदासम्म विकासमा खासै पहल नभएको आलोचना रहिरहेको बेला निर्वाचन ताका उसले राजधानीको मुद्दालाई थप पेचिलो बनाएको छ ।

तर, काँग्रेस, एमाले र माओवादी तिनै पार्टीले अलगअलग रुपमा निर्वाचनमा जाँदा प्रदेश नम्बर १ मा एमालेको बहुमत आउने आशंकाकै बीच एमाले–माओवादी गठबन्धनको निर्वाचन परिणाम अभूतपूर्व आउने अनुमानमा झन् विश्वास थपेको छ । यस्तो समयमा नेपाली काँग्रेसले आफ्नो निर्वाचन नारा बनाउनु भन्दा वाम गठबन्धनले विराटनगर राजधानी बनाउने मुद्दालाई अगाडी सार्दा यहाँका मतदाता बढी विश्वसनिय हुने अवस्था देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मोरङका अध्यक्ष बिनोद ढकाल विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचन हुन सक्नु भएको भए विराटनगर अन्तरिम प्रदेशको राजधानीको रुपमा घोषणा भईसक्ने अवस्था थियो । तर, ढकाल हारेसँगै प्रदेशभरमा सबै भन्दा ठूलो पार्टी दर्ज हुने भनिएको एमालेले महानगरपालिकामा पराजय भोगेसँगै तत्काललाई त्यो संभावनाप्रति खासै चासो नदेखाई दोस्रो परीक्षणका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई पर्खेको छ । काँग्रेसका नेतामध्ये डा. शेखर कोइराला, महेश आचार्य र अमृत अर्यालले यसको लविङ्ग गर्न सक्ने अवस्था नेपाली काँग्रेसका गुटगत राजनीतिका कारण रहन नसक्दा एमाले वा वामगठबन्धनमा भने त्यो सहज हुँदै आएको पनि छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले उनीहरुको कुरालाई खासै मान्दैनन् । काँग्रेसका कोइराला राजनीति हावी हुँदा पीडित बनेका देउवा पूर्वका कुनैपनि काँग्रेसलाई मान्ने लाइनमा छैनन् । उनले मोरङका नेता भन्दा भोजपुरका नेता ज्ञानेन्द्रकुमार कार्कीलाई बढी मान्छन् । तर, कार्कीलाई मानेकै भरमा विराटनगर राजधानी बनाउनु पर्दछ भन्ने लविङ्ग हुन सक्दैन ।

यहि बीचमा एमालेले एउटा फरक परीक्षण विराटनगरलाई केन्द्र बनाएर सुरु गरेको छ । एमालेका प्रभावशाली, सादगी, इमान्दार र खडेरीका नेता भनेर चिनिने नेता लालबाबु पण्डितलाई कोइराला निवासको राजनीतिक विरासत हटाउने र विराटनगरमा आफ्नो उपस्थिति देखाउने मनसायका साथ क्षेत्र नम्बर ६ को उमेद्वारीको रुपमा अगाडी सारेको छ । माओवादी केन्द्रमा समेत अध्यक्षसँग प्रभाव पार्ने नेताहरुमध्ये अमन लाल मोदी र शिवकुमार मण्डललाई विराटनगर महानगरपालिकासँग जोडिएको र आसपासको क्षेत्रमा उमेदवार बनाइएको छ ।

यी दुवै पार्टीले विराटनगरको परीक्षण गर्ने मनसाय किन राखे त ? सम्वद्ध पार्टीका नेताहरुको भनाईलाई नै मान्ने हो भने विराटनगर पछि पर्नुमा काँग्रेस मात्र हावी हुनुलाई बढी जोड दिइन्छ । यदि यस पटकको निर्वाचनमा क्षेत्र नम्बर ६ बाट एमालेका पण्डित, क्षेत्र नम्बर ५ बाट माओवादीका मण्डल र क्षेत्र नम्बर ४ बाट माओवादीकै मोदीले केन्द्रका लागि जीत हाँसिल गरेमा वाम गठबन्धनले दुईतिहाई बहुमतसहित विराटनगरलाई राजधानीको रुपमा स्थापित गर्नेछन् । तर, विराटनगर महानगर क्षेत्रमा यस पटक पनि काँग्रेस हावी भएमा त्यसले कस्तो बाटो लिन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

नेपाली काँग्रेसका नेता महेश आचार्यले विभिन्न विकासका नारासहित आफ्नो पार्टीले विराटनगरलाई राजधानी बनाउने आशय नेपाल प्रेस यूनियन मोरङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । तर, उहाँले बताएको उक्त विषयको पुष्टि भने प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले ल्याउने बहुमतले मात्र गर्न सक्दछ ।

त्यहि मनसाय यदि लालबाबु पण्डित वा शिवकुमार मण्डल र मोदीले व्यक्त गरेमा उनीहरु त्यसको निकटमा पुग्न सक्नेछन् । एमालेका नेता एवं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उमेद्वार पण्डितले वामगठबन्धनका नेताहरुलाई विराटनगर र आसपासका मतदाताले जीत गराउने र विराटनगरलाई राजधानी बनाउनेमा ढुक्क रहेको बताए । उनले गत १६ गते नै उमेद्वारी दर्ता गराउँदै सञ्चारकर्मीसँग भने–हामीले जितेमा विराटनगर प्रादेशिक राजधानी संभव छ ।

यसैगरी क्षेत्र नम्बर ५ का उमेद्वार शिवकुमार मण्डलले आफू र आफ्नो गठबन्धनले मोरङमात्र नभई प्रदेशमै बहुमत ल्याउने भएका कारण विराटनगर राजधानी हुनेमा विश्वास व्यक्त गरे । माओवादीकै नेता मोदी प्रचण्डसँग निकट मानिन्छन्, उनले आफ्नो जीत या हारे दुवै कुराले विराटनगरलाई राजधानी बनाउने माग गर्ने बताए । उनले आफू यस पटक मतदाताको मन जित्न सफल हुनेमा विश्वस्त रहनु भएको छ ।
अहिले विराटनगरलाई राजधानी बनाउनु पर्छ भन्ने विषय वाम गठबन्धनसँगै रहेको देखेका नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला भने यस विषयमा खासै चासो देखाएका छैनन् । उनलाई यहाँ बोल्दा अन्य जिल्लामा असर पर्ने लागेको छ भने अर्कोतर्फ काँग्रेसका सभापति देउवाले खासै उनको कुरालाई सुनुवाई गरेनन् ।

सभापति देउवाले आफ्नो प्रतिनिधिको रुपमा भोजपुरका ज्ञानेन्द्र कार्कीलाई सुनसरी ४ बाट उठाउँदै इटहरी वा धरानलाई राजधानी बनाउने संकेत दिईसकेका छन् । तर, एमाले वा माओवादी र त्यसबाट बनेको वाम गठबन्धनको नेताहरुमध्ये पण्डित, मण्डल र मोदी तीनैजना केन्द्रका नेताहरुसँगै रहेका मानिन्छन् । उनीहरुले भनेको केन्द्रका नेताहरुले सहजै मान्नेछन् भने त्यसका आधारमा गरेको लविङ्ग अन्य नेताहरुले मान्ने देखिन्छ ।

विराटनगर आसपासका क्षेत्र रहेका मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धनले उमेद्वारको संयोजन समेत उचित मिलाएको छ । कतै माधव नेपाल लाइनका व्यक्ति, कतै केपी ओली लाइनका मान्छे त कतै प्रचण्डका निकटस्थ र ज्वाईसम्मको उमेदवारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर