RUMPUM
animated ellipse animated ellipse

नेशनल किड्नी हस्पिट द्वारा ज्येष्ठ नागरिकलाई विशेष छुटको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७४, सोमबार २०:५८
126
Shares
विराटनगर, १५ जेठ / विगत ४ वर्षदेखि सञ्चालनमा रहेको नेशनल किड्नी हस्पिटलले विराटनगरका ज्येष्ठ नगरिकहरुलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई छुट सेवा उपलब्ध गराउने विषयमा विराटनगर–२ सौगातमार्गमा रहेको नेशनल किड्नी हस्पिटल प्रा.लि. र ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरबीच आज सम्झौता भएको हो ।
ज्येष्ठ नागरिकहरुको हकहितका लागि सकृयताका साथ कार्य गरिरहेको विराटनगर–१ स्थित ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चमा सदस्य हुने ६० वर्ष कटेका सम्पूर्ण सदस्यहरुलाई उक्त छुट् सेवा उपलब्ध गराउने गरि सम्झौता भएको हस्पिटलका कार्यकारी निर्देशक भोगेन्द्र खड्काले जानकारी दिए । सम्झौतामा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क ओपिडि सेवाका साथै इमरजेन्सी सेवा, प्याथोलोजी सेवा, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज र चिरेर गर्ने कुनैपनि प्रकारको शल्यक्रियामा पचास प्रतिशत छुट्को व्यवस्था गरिएको छ भने दुरविन पद्वतिबाट गरिने सबै प्रकारका शल्यक्रियामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी चिनी रोग अर्थात सुगर जाँच गराउन कुनैपनि शुल्क नलाग्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिकहरुलाई थप सेवा दिने उद्वेश्यसहित उनीहरुका परिवारलाई हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवामा २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको जानकारी कार्यकारी निर्देशक खड्काले जानकारी दिएका छन् । हस्पिटल र ज्येष्ठ नागरिकहरुबीच भएको सम्झौतामा सेवाहरु उपभोग गर्न ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको सदस्य भएको अनिवार्य हुनुपर्ने व्यवहोरा उल्लेख गरिएको छ भने संस्थाको लेटरप्याडमा छुटका लागि सिफारिस गरिनुपर्ने प्रावधान राखिएको छ ।
‘हस्पिटलका तर्फबाट ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै उक्त सेवाको घोषणा गरिएको हो ।’ निर्देशक खड्काले भने, ‘हामी स्वास्थ्य क्षेत्रलाई व्यवसायभन्दा माथी उठेर सेवामूलक बनाउन चाहन्छौं र त्यस अनुरुप सेवा उपलब्ध पनि गराउँछौं ।’
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चका अध्यक्ष डिल्ली पोखरेलले आफूहरुका लागि यो प्रकारको सेवा उपलब्ध गराइनु अत्यन्तै हर्षको विषय रहेको बताएका छन् । अध्यक्ष पोखरेलले भने, ‘सरकारी स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिकहरुलाई सेवा उपलब्ध गराउन नसकिरहेको खण्डमा निजी संस्थाले यो प्रकारको सेवा उपलब्ध गराउनु अत्यन्तै सकारात्मक विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर