तेजन खड्का
उर्लाबारी, २२ चैत । भारतबाट चोरी तस्करी गरी बिस्कुट भित्रिने क्रम पछिल्लो समय तीव्र भएपछि नेपाली उत्पादकहरू मारमा परेको गुनासो बढ्न थालेको छ । त्यति मात्र होइन ,राज्यलाई कर तिरेर आएका भारतीय विस्कुटका नेपाली विक्रेताको ब्यापार समेत चौपट भएको रहस्य खुलेको छ ।
कर छलेर नेपाल भित्रिएका भारतीय विस्कुट प्रति उपभोक्ताको विश्वास भएकै कारण कर तिरेर ल्याइएका सोही ब्राण्डका विस्कुट समेत संकटमा छन् । पार्लेजीलगायत ब्राण्डका भारतीय विस्कुटले नेपालमा आधिकारिक एजेण्ट नै राखेर विस्कुटको ब्यापार सुरु गरे पनि भारतीय १० रुपैयाँको विस्कुट नेपाली बजारमा २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । भारु १० रुपैयाँको बिस्कुट १२० ग्राम हुने गरेको छ भने नेपाली एजेण्ड मार्फत आउने सोही बिस्कुट १४० ग्राम तौलमा आउने गरेको छ । पार्लेजीले नेपालमा पठाएको १४० ग्रामको बिस्कुटको मुल्य नेपाली मै २५ रुपैयाँ तोकेर पठाएको छ ।
पार्लेजीका उर्लाबारी स्थित आधिकारिक बिक्रेता दिलिपकुमार अग्रवाल भन्छन्–भन्सार तिरेर आएको माल २५ रुपैयाँमा १४० ग्राम छ । चोरीबाटो आएको १०० ग्रामको २५ रुपैयाँ छ । तर पनि चोरी बाटोको बिस्कुट नै नेपाली उपभोक्ता किनिरहेका छन् ।
उनले सिधा सिधी ग्राहक ठगिइरहेको बताउँदै कर छलेर आएका भारतीय बिस्कुटलाई प्रहरी प्रशासनले बिक्रीमा रोक लगाउनु पर्ने बताए ।
नेपाल बिस्कुट उत्पादक संघका अनुसार नेपालमा स्थापना भएका ४० वटा विस्कुट उद्योगमध्ये ५० प्रतिशत मात्र हाल सञ्चालनमा छन् । सञ्चालनमा भएका बिस्कुटले समेत भारतीय बिस्कुटको हस्तक्षेप तथा अबैध आयातका कारण पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् । नेपाली बिस्कुट उद्योगहरुले पूर्ण क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्नु पर्ने बाध्यता रहेको छ ।
नेपालमा उत्पादित बिस्कुट उद्योगहरुमा ५ सय करोड बढीको लगानी रहेको र १५ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । राज्यका निकायहरुले बिस्कुट उद्योगहरुको प्रवद्र्धनमा चासो नदिंदा चोरी, तस्करीको बिस्कुटले बजार कब्जा गरेको छ । यसले ५ अर्ब बढीको लगानी र रोजगारीको अवसर गुम्नसक्ने चिन्ता बढेको उद्योगीहरुको गुनासो छ ।
बिस्कुट आयात गर्दा प्रति केजी १ सय २० रुपैयाँ, ३५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नु पर्छ । यसरी राजश्व तिरेर आयात गर्नु भन्दा व्यवसायीहरुले चोरीको बाटो हुँदै बिस्कुट भित्र्याउने गरेका छन् ।
भन्सार तिरेर र छलेर नेपाल भित्रिएको एउटै कम्पनीको उही बिस्कुट, तर मूल्य फरक फरक ! भारत तथा तेश्रो मुलुकबाट एक अर्ब ५० करोड मूल्य बराबरको बिस्कुट वर्षेनी भित्रिने गरेको छ । नेपालको तुलनामा भारतमा बिस्कुटका लागि चाहिने कच्चा पदार्थ जस्तै मैदा, चिनी निकै सस्तो पर्ने भएकोले त्यहाँबाट उत्पादित बिस्कुट चोरीको बाटो हुँदै नेपाल भित्रिँदा यहाँको उत्पादनमा गम्भीर असर परेको बिस्कुट उत्पादक संघका उपाध्यक्ष एवम् एशियन बिस्कुट एण्ड कन्फेस्नरीका सञ्चालक महेश जाजूले बताएका छन् ।
‘सरकारले सीमा नाकामा कडाई नगर्दा अबैध रुपमा आयात भएका बिस्कुटका कारण यहाँका बिस्कुट उद्योगहरु संकटमा परेका हुन् ।’ उनले भने –‘सरकारले बजार अनुगमन र छापा मारी त्यस्ता बिस्कुटहरु जफत गर्नु पर्छ ।’ अबैध रुपमा ठूलो परिमाणमा बिस्कुट आयात हुँदा सरकारलाई ठूलो राजश्व घाटा हुनुको साथै स्थानीय उद्योगहरुमा भएको लगानी संकटमा परेको उनको भनाई छ ।
मुख्य गरी भारतमा उत्पादित ब्रिटानिया, पार्लेजी, अनमोल ब्राण्डका बिस्कुटहरु भन्सार राजश्व नतिरी नेपाल भित्र्याइने गरिएको छ । भन्सार कर्मचारीका अनुसार राजश्व तिरेर नेपाल भित्र्याइएका भारतीय बिस्कुटको प्याकेटमा ‘एनआरएस’ लेखिएको हुन्छ । अबैध रुपमा आयातित बिस्कुटको प्याकेटमा चाहि ‘एमआरपी’ लेखिएको हुन्छ ।
‘सरकारी निकायले अनुगमन गर्ने हो भने बैधानिक र अबैधानिक छुट्याउन कुनै गाह्रो छैन ।’ उद्योगी जाजूले भने –‘तत्काल सरकारी निकायले बजारको अनुगमन गर्न जरुरी छ ।’बैधानिक रुपमा ल्याइएका बिस्कुटसँग यहाँका उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने भए पनि अबैध रुपमा आयात गरिएका बिस्कुटको मूल्य निकै कम भएकोले यहाँका उद्योगहरु संकटमा परेका उहाँको प्रष्टोक्ति छ ।
नेपालमा स्वदेशी र विदेशी गरी वार्षिक ७ अर्ब ५० करोड मूल्य बराबरको बिस्कुट खपत हुने गरेको छ । यता भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले नेपालको बिस्कुट उत्पादक संघले मुख्य गरी तीनवटा माग समेटिएको लिखित निवेदन पेश गरेको उल्लेख गर्दै दुईवटा माग पूरा गर्ने बिषयमा आफूहरु गम्भीर रहेको स्पष्ट पारे । ‘उहाँहरु(बिस्कुट उद्योगीहरु)ले विशेष गरी भारतबाट हुने बिस्कुटको चोरीपैठारी रोकिदिनु पर्यो भन्नु भएको छ ।’ ढुंगानाले भने –‘उहाँहरुले लिखित जानकारी गराए लगत्तै हामीले राजश्व विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई समेत लिखित पत्र पठाएर बिस्कुटको अबैध आयात रोक्न आग्रह गरेका छौ ।’
ढुंगानाका अनुसार उद्योगीहरुले भारतीय बिस्कुटहरुको बैधानिक आयातमा लगाइने कर र गरिने मूल्याङ्कनमा समेत स्वदेशी उद्योगीलाई राहात हुने गरी व्यवस्था गरि दिन अनुरोध गरेका र सो बिषयमा समेत आफूहरु सकारात्मक रहेको बताएका छन् ।
‘राइट ट्याक्स र राइट भ्यालूमा हामी सजग र गम्भीर छौ ।’ उनले थपे –‘हाम्रो ध्यान पनि स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन तथा प्रोत्साहन गर्नु नै हो ।’