RUMPUM
animated ellipse animated ellipse

‘म स्त्री अर्थात् आइमाई’ माथि परिचर्चा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०७४, मंगलवार १५:२७
3
Shares
विराटनगर, २४ श्रावन /मदन पुरस्कारको सर्ट लिष्टमा पर्न सफल कवि सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’ कवितासंग्रहमाथि आज विराटनगरमा अनुशीलन कार्यक्रम गरिएको छ ।
विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको अनुशीलनमा कवि आभासले कविता लेखनयात्राका विषयमा बोलिन् । ‘मेरो कविता लेखनको पाठशाला भनेको वाणी प्रकाशन हो,’ उनले भनिन्, ‘यदि वाणी थिएन भने म आज यो स्थानमा हुने थिएँ या थिइन् भन्न सक्दिनँ ।’ एसएलसी उत्तीर्ण गरेर ओखलढुंगाबाट २०५५ सालमा विराटनगर झरेकी सीमाले अध्ययनसँगै कविता लेखन सुरु गरेकी हुन् ।
‘कविताको बिज त ममा पहिलादेखि नै थियो,’ उनले अगाडि भनिन्, ‘त्यसको प्रस्फुटन र अंकुराउने काम भने विराटनगर आएपछि भएको हो । त्यसमा पनि वाणीको सम्पर्कमा गएपछि ।’
अझै पनि समाजमा नारीलाई हेयका दृष्टिले हेरिने गरेको प्रति आपत्ति जनाइन् सीमाले । उनले नारीकै पीडा, नारीलाई समाजले हेर्ने दृष्टिकोणलगायतका विषयमा लेखिएका कविता संग्रहमा समावेश गरेको जनाइन् । ‘आइमाई त्यस्तो विशिष्ट रुपमा हो, जसको अर्को शब्दै छैन,’ उनले थपिन्, ‘केटाको केटी, नारीको पुरुष भएजस्तै आइमाईसँग मिल्दो पुरुषलाई चिनाउने अर्को शब्दै छैन । त्यसैले आइमाई सृष्टिकी सर्वश्रेष्ठ हुन् ।’
सीमाले मन्तव्यसँगै ‘मैले बाघ निलेको छु’ शीर्षकको कविता प्रस्तुत गरिन् ।
मञ्जरी प्रकाशनले बजारमा ल्याएको ‘म स्त्री अर्थात् आइमाई’ मदन पुरस्कार गुठीले सार्वजनिक गरेको ९ कृतिभित्र परेको छ । कवि मनु मञ्जिलले कवितासङ्ग्रहभित्रका कविताको चर्चा गरे । उनले संग्रहभित्रका कविताहरू विद्रोही र नारीवादी भएको विचार राखे ।
‘सीमाको कवितामा नारी निर्भयता र साहस सराबरी खेल्छन्,’ मनुले भने । आरोहण गुरुकुलले आयोजना गरेको अनुशीलन कार्यक्रममा विराटनगरसहित इटहरी, धरान, बेलबारी, उर्लाबारीलगायतका साहित्यकारहरू सहभागी थिए । प्राज्ञ खेम नेपालीले सहजीकरण गरेको कार्यक्रममा संग्रहमा संग्रहित मञ्जिलले लेखेको भनाइ पढेर कवि एवं पत्रकार मीनकुमार नवोदितले विषय प्रवेश गराएका थिए ।
‘म स्त्री अर्थात् आइमाई’भित्र विभिन्न शीर्षकका ३८ वटा कविता छन् । सीमाको यसअघि २०६३ सालमा ‘साँझको संघारबाट’ कवितासंग्रह प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर