RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्रमा मिल्यो भागबण्डा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७४, बिहीबार १९:४४
3
Shares
विराटनगर, २५ माघ/नेकपा माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेतामा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सांसद टंक आङबुहाङलाई चयन गरेको छ ।

दलको नेता चयनमा विवाद देखिएपछि पार्टीको प्रदेश कार्यालय र संसदीय दलको बिहीबार विराटनगरमा बसेको बैठकले पार्टीका केन्द्रीय सचिबालय सदस्यसमेत रहेका आङ्बुहाङलाई नेता चयन गरेको हो ।

प्रदेशसभामा एक स्वतन्त्र रुपमा निर्वाचितसहित १६ जना सांसद रहेको माओवादीले सर्वसम्मत रुपमा आङ्बुहाङलाई दलको नेता चयन गरेको पार्टीका प्रदेश संयोजक सावित्रिकुमार काफ्लेले जानकारी दिए ।
जनयुद्धकै समयबाट भूमिगत राजनीतिमा सक्रिय रहेका आङ्बोहाङ २०६२÷६३ को जनआन्दोलनपछि गठन भएको अन्तरिम संसदमा सदस्य रहेका थिए । उनले नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षको रुपमा पनि नेतृत्व गरिसकेका छन् ।

पाँचथरबाट निर्वाचित सांसद इन्द्रबहादुर आङ्बोले पनि संसदीय दलको नेता दावी गरेपछि माओवादीलाई नेता छान्न सकस परेको थियो ।

अहिले आङ्बोलाई प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर पठाउने सहमति जुटेको छ । ‘अब आङ्बुहाङले संसदमा र आङ्बोले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक काफ्लेले भने, ‘प्रदेश कार्यालयले सर्वसम्मत रुपमा निर्णय गरेकोले अब पार्टीमा कुनै विवाद छैन ।

निर्वाचनको बेला निस्कृय बसेर पार्टी विरोधी गतिबिधिमा सक्रिय रहेका नेता गोपाल किरातीले आङ्बोलाई दलको नेता बनाउन खोजेको भन्दै असुन्तुष्टि चर्किएको थियो ।

किरातीमाथि कार्वाहीको माग गर्दै १९ जना पोलिटब्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई उजुरीसमेत गरेका थिए । पार्टी प्रदेश कार्यालयले मनोमानी रुपमा निर्णय गरेको भन्दै सोमबार २९ जना पोलिटब्यूरो सदस्यहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रदेश सचिवालयको बैठक बोलाउन प्रदेश संयोजक सावित्रीकुमार काफ्लेसमक्ष मागसमेत गरेका थिए ।

विवादबीच आज विहान विराटनगरमा जम्मा भएका नेताहरुले प्रदेश संसदीय दल र सरकारको जिम्मेवारी बाँडफाँड गर्ने सहमति जुटाएका हुन् ।

यसअघि किरातीको नेतृत्व स्वीकार नगर्ने बताएको असन्तुष्ट पक्षले त्यसबारे पार्टीमा अन्तरसंघर्ष चलाउने र बैठकमा छलफल गर्ने जनाएको छ । ‘अहिले सरकार र संसदमा पार्टीको नेतृत्वबारे सहमतिमा निर्णय गरिएको हो’ असन्तुष्ट पक्षका एक नेताले भने, ‘विगतको निर्वाचनमा किरातीको भूमिका र कार्यशैलीबारे पार्टी नेतृत्वको उपस्थितिमा बैठक बसेर छलफल हुनेछ ।’

असन्तुष्ट पक्षले किरातीले बाम गठबन्धनको विरोध गर्दै चुनाबमा निष्कृय रहेको र एकता विरोधी गतिबिधि गरेको कारण पार्टीलाई क्षति पुगेको बताउँदै आएको छ । यसअघि एमाले र माओवादी एकता भएकै दिन माओवादी पार्टी पुनर्गठन गर्ने घोषणा गरेका नेता किरातीले पनि पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्नेगरी पार्टी काममा फर्किएको बताएका छन् ।

‘माओवाद र पहिचानको मुद्दा मैले उठाएको हो, त्यसमा सम्झौता हुनुहुन्न भन्ने मत हो’ किरातीले भन्नुभयो, ‘म पार्टी एकताकै विरोधी भने हैन ।’ माओवादीले संसदीय दलको नेता र सरकारमा नेतृत्व गर्ने व्यक्तिबारे टुंगो लगाएपनि अन्य मन्त्री, उपसभामुख र दलको सचेतकबारे निर्णय गरेको छैन । त्यसबारे नेकपा एमालेसँगको छलफलपछि निर्णय गरिने संसदीय दलका नेता आङ्बोहाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर