RUMPUM
animated ellipse animated ellipse

तिहारका लागि भारतबाट २ लाख सयपत्री माला ल्याइने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार ०८:३५
3
Shares

काठमाडौं । तिहारका लागि भारतबाट झण्डै १७ लाख मूल्य बराबरको फूलको माला नेपाल भित्रिने भएको छ । तिहारमा एकैपटक फूलको माग बढ्ने भएकाले पुष्प व्यवसायीहरुले झण्डै २ लाख थान भन्दा बढी सयपत्री फूलका माला भित्र्याउने तयारी गरेका हुन् ।

व्यवसायीले यसै साताको अन्तिमदेखि सयपत्रीको माला भित्र्याउन सुरु गर्ने फ्लोकल्चर एशोसियशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । उनकाअनुसार भारतबाट माला नल्याए नेपाली बजारमा स्वदेशी मालाको मूल्य पनि अप्राकृतिक रुपमा वृद्धि हुन्छ ।

‘बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ’ श्रेष्ठले भने, ‘थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाइदिन्छन् । त्यसैले बजारको सन्तुलनका लागि भारतीय माला ल्याउनु बाध्यता नै हो ।’

मूल्य कति ?

उनले तिहारको समयमा एकैपटक फूलको माग बढ्ने भएकाले स्वदेशी उत्पादन थोरै मात्रै अपुग हुने बताए । भारतीय माला प्रायः कोलकत्ताबाट आयात हुने गरेको छ ।flower_garlen-5-copy

यो वर्ष सयपत्री फूलको माला औसतमा प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्म किन्न पाइने व्यवसायीको दावी छ । तर, प्रायः बजारमा सय रुपैयाँभन्दा कम मूल्यका माला नपाइने समयमा केही वर्षदेखि नै छ ।

‘बिचौलियाले सामान्य अभावलाई पनि बिकराल जस्तो बनाएर त्यसो गर्छन् । तर, बजारमा अभाव हुन नदिने गरी हामी माला आपूर्ति गर्छौं’ अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट २ लाख भन्दा बढी माला आएपछि स्वदेशी मालाले बजारमो माग धान्न सक्छ ।’

भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा बजारमा ५० देखि ६० रुपैयाँ भन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नआउने एसोसियसशनले जनाएको छ ।

१० लाख मालाको कारोबार

तिहारमा देशभर १० लाख मालाको कारोबार हुन्छ । जसमा ८ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् ।

यसमा घरायसी रुपमा उत्पादन भएर प्रयोग हुने फूलको हिस्सा समावेश छैन । प्रायः गाउँघरमा फूलको माला आफ्नै बारीमा उत्पादन गरेर लगाउने प्रचलन छ । शहरी क्षेत्रमा भने फूल र मालाको माग उच्च हुन्छ ।

तर, पछिल्लो समयमा कौसी तथा गमलामा फूल उत्पादन गर्ने क्रम पनि बढेको छ । यसैकारण शहरी क्षेत्रमा पनि तिहारमा फूलको माग उच्च दरमा बढेको छैन । साथै सजावटका लागि बढी बत्तिको प्रयोग हुने र प्लाष्टिकका कृत्रमि फूल प्रयोग र्ने क्रम पनि बढेको छ । यसको तिहारमा फूलको ब्यापार पहिलेभन्दा कम हुन थालेको छ ।

मखमलीमा आत्मनिर्भर

व्यवसायीले सयपत्रीको माला भारतबाट ल्याएपनि मखमली र गोदावरी भने विदेशबाट ल्याउनु पर्ने अवस्था नरहेको बताएका छन् । ‘यो वर्ष व्यवसायिक फूल खेति भएका धेरै ठाउँमा हामीले हेरेका छौं । कुनैपनि ठाउँमा फूल उत्पादनमा प्रभाव परेको छैन ‘ अध्यक्ष श्रेष्ठले भने,’यो  वर्ष फूलको गुणस्तर पनि राम्रो छ । टनेल लगाएर फूल खेति भएका स्थानमा माघमा रोकिएका बिरुवाले अहिलेसम्म पनि उत्पादन दिइहेका छन् ।’

 उनले यो वर्ष उपभोक्ताले  गतवर्षहरुका भन्दा गुणस्तरीय माला किन्न पाउने बताए । उत्पादन पनि पर्याप्त भएकाले मालको मूल्य पनि अस्वभाविक नहुने उनले बताए ।

तिहारमा घर सजाउनदेखि भाइटिका र पुजाआजाका लागि फूलको माला अनिवार्य मानिन्छ । हितारमा झण्डै ७ करोड बराबरको फूलको कारोबार हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पुष्प मेला पनि हुँदै

तिहारमा घर सजावटका लागि आवश्यक पर्ने फूलका बिरुवालाई लक्षित गर्दै फ्लोकल्चर एसोसियशनले कात्तिक १० देखि १३ गतेसम्म पुष्प मेला गर्ने भएको छ ।

तिहारमा प्रयोग हुने गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवा समेत प्रदर्शनीमा राखिने छ । बजारमा पुष्प तथा पुष्पजन्य वस्तुको मागमा प्रत्येक वर्ष १० देखि १५प्रतिशतका दरले बृद्धि भइरहेकाले मेलाले थप उपभोक्ता आकषिर्त गर्ने अपेक्षा आयोजकको छ । यस्तै तिहारमा फूलले घर सजाउनेहरुलाई पनि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपालका ३८ जिल्लामा झण्ढै ७ सय पुष्प र्फम तथा नर्सरीहरु बिस्तार भइसकेका छन् । अहिले लगभग १ सय ४० भन्दा बढी हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।

अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर