RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीको फोहोर ब्यवस्थापनमा चुनौती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७३, बुधबार १८:०२
3
Shares
सरोज बस्नेत
उर्लाबारी, २५ फागुन / बढ्दो शहरी करणसँगै उर्लाबारीमा फोहोर ब्यवस्थापनमा चुनौती थपिएको छ ।
नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि जिम्मा पाएको मेची महाकाली इन्भारोन्मेन्ट केयर प्रालिले उर्लाबारी–३ को मावा खोलामा फोहोर फ्याक्दै आएको थियो । तर, स्थानीयले खोलामा फोहोर फ्याक्दा वातावरणलाई असर गरेको र दुर्गन्ध फैलिएको भन्दै उर्लाबारी नगरपालिकाको फोहोर फ्याक्ने गाडीलाई अवरोध गर्दै तोडफोड गरेपछि उर्लाबारीको फोहोर ब्यवस्थापनमा चुनौती थपिएको हो ।
गत असारमा आएको बाढीले उर्लाबारी–६ मंगलबारेस्थित बक्राहा खोलामा रहेको नगरपालिकाको डम्पिङ साइट बगाएको थियो । डम्पिङ साइट बगेपछि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सुवास श्रेष्ठले मावा खोलामा कम्पनीलाई केही समयका लागि भन्दै फोहोर फ्याक्न निर्देशन दिएका थिए ।
स्थानीयको चर्को विरोधको कुनै सुनुवाई नगरी एकलौटी तरिकाले नगरपालिकाले त्यहाँ फोहोर फ्याक्दै आएको थियो । गाउँमा दुर्गन्ध फैलिएर माहामरी नै फैलिने खतरा बढेपछि उर्लाबारी नगरपालिकालाई फोहोर फ्याक्न अवरोध गरेको स्थानीय गणेश दाहालले भनाई छ ।
‘दिर्घकालिन योजनासहित फोहार व्यवस्थापनमा सम्बन्धित निकाय मौन रहँदा नगरपालिकाबाट संकलित फोहोरमैलाको व्यवस्थापनमा समस्या देखिएको हो’ उनले भने–‘दिनभर डम्पिङ साइटबाट नराम्रो गन्ध र झिँगाको समस्याबाट आजित बनेका छौं, यसरी कहिलेसम्म बस्ने ?’ दाहालले आक्रोश हुँदै भने–‘ हचुवाको भरमा खोला किनारलाई डम्पिङ साइट बनाएका कारण गाउँमा दुर्गन्ध सिर्जना भएको छ ।’ फोहोरको थुप्रो बढेसँगै गाउँमा दुर्गन्ध फैलिएर बालबालिकाहरुसमेत बिरामी पर्न थालेको उनको भनाई छ ।
फोहोरका कारण स्थानीयका चौपयाहरु समेत मर्न थालेपछि उनीहरु आक्रोशित बनेका छन् । उनीहरुले उर्लाबारी नगरपालिकालाई फोहोर फ्याक्ने डम्पिङ साइड सार्न माग गर्दै अवरोध गरेका छन् ।
गाउँ नजिकै डम्पिङ साइड भएका कारण समस्या सिर्जना भएको भन्दै फोहोर फ्याक्न आउने गाडीलाई रोक लगाइएको स्थानीय जंगबहादुर कार्कीले बताएका छन् । घरमा झिँगाको समस्याले बस्न सक्ने अवस्था छैन उनले भने–‘तत्काल डम्पिङ साइटलाई अन्यत्र सार्नु पर्छ ।’ उनले गुनासो गर्दै भने–‘अहिले थोरै फोहोर हुँदा त गाउँमा बस्ने अवस्था छैन ।’
स्थानीय दुर्गाप्रसाद खतिवडाले वातावरणको दृष्टीले समेत उक्त स्थान डम्पिन साइडको लागि उपयुक्त नभएको भन्दै सरोकारवालाहरुले त्यसप्रति ध्यान दिनु पर्ने बताएका छन् । दिर्घकालिन डम्पिङ साइटको योजना नबनाएको र त्यसले गाउँमा नकारात्मक असर पुर्याएको उनले उल्लेख गरेका छन् ।
‘कमिसनको चक्करले खोलाको जग्गा किनियो’
उर्लाबारी नगरपालिकाले फोहोर डम्पिङ गर्दै आएको उर्लाबारी–६ बक्राहा खोला अवस्थित डम्पिङ साइट गत असारमा बाढीले बगाएपछि हाल उर्लाबारी–३ को मावा खोला किनारमा फोहोर फाल्ने ब्यवस्था मिलाएको थियो । नगरपालिकाले तीन वर्ष अघि ७ लाख २१ हजार रुपैयाँमा किनेको १ विगाहा ७ कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले डम्पिङ साइड बगाएको थियो । जानी जानी खोला किनारको जग्गा नगरपालिका किनेको थियो ।
उर्लाबारी गाविसका तत्कालिन प्रमुख एवं गाविस सचिव मुरारीप्रसाद घिमिरेसहित केही कर्मचारको मिलेमतोमा उक्त जग्गा किनिएको स्थानीयको भनाई छ । कर्मचारीले कमिसनको लोभमा खोलाधारको जग्गा किन्दा नगरवासीले साढेसात रुपैयाँ खोलामा बगाउनु परेको थियो ।
फोहोर फालिँदै आएको स्थानमा हाल बक्राहा खोलो कुदिरहेको छ । तटबन्ध गरेर ब्यवस्थित नगरी खोलाधारमा जग्गा खरिद गर्दा नगरपालिकाको साढे सात लाख रुपैयाँ मात्र खोलामा बगेको छैन्, फोहोर ब्यवस्थापन गर्ने ठेक्का पाएको मेची महाकाली इन्भाइरमेन्ट केयर प्रालिले निर्माण गरेको संरचना पनि खोलाले बगाएको थियो ।
उर्लाबारी नगरक्षेत्रबाट दैनिक ४ देखि ६ ट्याक्टर (२४ देखि ३० टन) फोहोर निस्कने गर्छ । झण्डै २ हजार ७ सय उपभोक्ताको मा ३÷३ दिनमा मात्र फोहोर संकलन गर्न ट्याक्टर पुग्ने गरेको छ । नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँमा फोहोर ब्यवस्थापनको जिम्मा मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिलाई दिएको हो । नगरपालिका घोषणा भएसँगै मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिसँग ५ वर्षका लागि वार्षिक १५ लाखको सम्झैता गरेर नगरको फोहोर संकलनको जिम्मा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर