संविधान जारी भएकोमा भारतीय राष्ट्रपतिद्वारा नेपाललाई बधाई

खबर पुर्वान्चल, १७ कार्तिक २०७३, बुधबार

काठमाडौं, कात्तिक १७/नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत वर्ष नयाँ संविधान जारी गर्न सफल भएकोमा नेपाली जनता र संविधानसभालाई बधाई दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा केही बेरअघि सम्पन्न भेटवार्ता क्रममा मुखर्जीले उक्त बधाइ ज्ञापन गरेका हुन्। ‘भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने।

त्यस अवसरमा नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो।

भेटवार्तामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए। त्यसैगरी, भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा बुधबारै काठमाडौँ आएका हुन्। त्यसअघि राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गरेकी थिइन्। त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो।

अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो। यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए। रासस

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.