माओवादी भर्सेज सोसियल मिडियाः घेराबन्दीमा पर्दैछन् प्रचण्ड

खबर पूर्वाञ्चल, १८ कार्तिक २०७३, बिहीबार १७:५३
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको सुरुको दिनमै सोसियल मिडियाको मुख्य ‘ट्रेण्ड’ माओवादी र भारतको विरोधमा खनियो । प्रचण्ड सरकारमाथि सोसियल मिडियाले बोलेको यो पहिलो हमला होइन । र, यो अन्तिम प्रहार पनि होइन । मुखर्जी दिल्ली फर्कनासाथ प्रचण्ड थप घेराबन्दीमा पर्ने अवस्था छ ।

सरकार परिवर्तनदेखि दिल्ली भ्रमणसम्म

केपी ओली नेतृत्वको सरकार ढाल्ने निर्णयमा पुग्नासाथ सोसियल मिडिया प्रचण्डविरुद्ध खनियो । त्यसबेला प्रचण्डलाई भारतको ‘दलाल’सम्म भन्दै सामाजिक सञ्जालमा तीब्र प्रहार भयो । यद्यपि मधेसमा प्रचण्डको विरोधको पारो अलिकति तल झर्‍यो ।

राष्ट्रवादी जनमत, काठमाडौंको नाकाबन्दी पीडित मानसिकता, नेताहरुसँग असन्तुष्ट मध्यम वर्ग, वौद्धिक समुदाय अनि विदेशमा बसेर देशको चिन्ता गर्ने समुदाय नियमितजसो माओवादीको विरोधमा उभिने गरेको छ ।

यही वीचमा कांग्रेससँग मिलेर केपी ओलीको सरकार ढाल्ने निर्णयमा प्रचण्ड पुग्नासाथ यो समुदाय माओवादीविरुद्ध थप जाइलागेको छ ।

प्रधानमन्त्री बनेको केही समयपछि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्किए । भारत जानुअघिदेखि नै उनीविरुद्ध देशव्यापी आलोचना र दबाव सुरु भयो । यही कारण, प्रचण्डले आफ्नो भारत भ्रमणलाई एउटा चुनौतीका रुपमा लिएको बताए ।

प्रचण्ड भारतसँग झुकेर आउने र लम्पसार पर्ने भन्नेजस्ता आरोपहरु उनीमाथि सामाजिक सञ्जालमार्फत् खनिए । भारत भ्रमणबाट आफूले यी चुनौतीको सामना गरेर फर्केको प्रचण्डको दाबी रहँदै आएको छ । तर, सामाजिक सञ्जालको ‘भर्चुअल’ जनमत प्रचण्डको यो दाबीलाई स्वीकार्नेवाला छैन ।

देशभित्र एउटा जबरजस्त के मान्यता स्थापित गरिएको छ भने प्रचण्ड सरकार भारतको इशारामा बनेको हो ।

हुन त एक जमानामा माओवादीले माधव नेपालको सरकारलाई यसैगरी ‘कठपुतली सरकार’ भनेको थियो । अहिले प्रचण्डको सरकारलाई एमालेले ‘कठपुतली’ चाँहि भनिहालेको छैनन् । तर, त्यही दर्जामा राखेर प्रचण्ड सरकारको आलोचना भइरहेको छ ।

प्रचण्डको दिल्ली र गोवा भ्रमणले काठमाडौंको राष्ट्रवादी जनमतलाई खासै मथ्थर पारेको छैन, बरु थप उत्तेजित बनाइदिएको छ ।

मुखर्जी आउँदा थप प्रहार

प्रधानमन्त्री प्रचण्ड, उनको सरकार र माओवादी पार्टीमाथि सामाजिक सञ्जालबाट भएको तेस्रो प्रहार चाँहि भारतीय प्रधानमन्त्री प्रणव मुखर्जीको भ्रमणमा सार्वजनिक विदा दिने सरकारी निर्णय भएपछि सुरु भयो ।

यो प्रहारको प्रतिवाद गर्न प्रधानमन्त्री प्रचण्ड आफैंले उक्त निर्णय राष्ट्रपति विद्यादेवीको आग्रहमा गरिएको सार्वजनिक प्रतिक्रिया दिए । यद्यपि त्यसको आलोचना हुन छाडेन र अझै भइरहेको छ ।

मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक यातायात अवरुद्ध हुँदा उपत्यकाबासीहरु सरकारविरुद्ध थप आक्रामक एवं रुष्ट बने ।

माथि उल्लेख गरिएका चारवटै प्रशंगमा सोसियल मिडियाले प्रचण्ड र माओवादीविरोधी जनमतलाई थप उत्तेजनामा ल्याइदिएको छ, जसका कारण माओवादी नेताहरु मनोवैज्ञानिक हिसाबले प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् ।

अब यो स्थितिमा कुनै सुधार आएन भने यसले आगामी चुनावमा समेत माओवादी केन्द्रलाई नकारात्मक प्रभाव पार्न सक्छ ।

अहिले नेपाली राजनीतिमा एउटा डिस्कोर्स सुरु भएको छ, के प्रचण्ड नेतृत्वको सरकारले आगामी चुनावमा माओवादी केन्द्रको भोट घटाइरहेको छ ?

एमालेको स्कोर

यो कुरा निश्चय नै हो कि सामाजिक सञ्जालमा पहुँच राख्ने मध्यम एवं शिक्षित समुदायमा नेकपा एमालेनिकट मानिसहरुको विशेष ‘होल्ड’ छ । हुन त यहाँ एमालेलाई नरुचाउने जमात पनि ठूलै छ, तर यसले माओवादीलाई समेत मन पराउँदैन ।

सामाजिक सञ्जालमा अर्को पनि ठूलो जमात छ, जसले एमाले, माओवादी, कांग्रेस वा कुनै पनि दललाई राम्रो नजरले हेर्दैन र यी सबै नेताहरुलाई ‘चोर’ को संज्ञा दिन्छ । विशेष गरी यी सबै क्लष्टरमा रहेका नागरिकहरु यतिबेला माओवादी नेतृत्वको सरकारको कार्यशैली देखेर दिक्क छन् ।

अहिले नेपाली राजनीतिमा एउटा डिस्कोर्स सुरु भएको छ, के प्रचण्ड नेतृत्वको सरकारले आगामी चुनावमा माओवादी केन्द्रको भोट घटाइरहेको छ ? अनि के लोकमान प्रकरणसम्म आइपुग्दा एमालेले आफ्नो स्कोर बढाइरहेको हो ?

यसका साथमा अर्को पनि प्रश्न छ- ‘जनयुद्धका बेला आफूलाई अफेन्सिभ राख्न सक्ने माओवादी नेतृत्व अहिले किन डिफेन्सिभ भनेको होला ? राजनीतिक खेलमा आखिर किन घटिरहेको छ माओवादी केन्द्रको स्कोर ?’

यसका पछाडिको कारण खोज्ने हो भने सरकार प्रचण्ड एक्लैले चलाइरहेको जस्तो देखिन्छ । माओवादीका अन्य मन्त्रीहरुको परफरमेन्स शुन्यजस्तै छ । सरकारका प्रवक्ताको परफरमेन्स पनि झूर छ । प्रधानमन्त्रीका सल्लाहकारहरु अर्धभूमिगत हुन् कि जस्ता देखिन्छन् ।

प्रचण्ड एक्लैले सगर थाम्न खोजेजस्तो गरिरहेको प्रतीत हुन्छ । त्यसैले उनी जति अघि बढ्न खोज्छन्, सामाजिक सञ्जालमा तारो बनिहाल्छन् । प्रचण्डको प्रतिवाद गरिदिने कोही छैनन् ।

अब शुक्रबार मुखर्जी भारत नफर्किँदासम्म सोसियल मिडियामा ‘लम्पसारवाद’ ट्रेण्ड जारी नै रहने छ र माओवादीमाथि तीव्र प्रहार यथावतै रहनेछ । त्यतिबेलासम्म माओवादीहरु सुतुमूर्गजसरी टाउको लुकाएरै बसिरहने छन् सायद ।

नेपालमा भारतविरोधी राष्ट्रवादी जनमत निकै बलियो र जब्बर रहेकाले त्यसको मार मुखर्जी र नेपाल सरकार दुबैले खाने स्थिति आएको हो । काठमाडौंको मनोविज्ञान र सोसियल मिडियाको ट्रेण्डलाई हेर्दा मुखर्जीको नेपाल भ्रमणले नेपाल-भारत सम्बन्धलाई सकारात्मक बनाउनुभन्दा बढी गिजोलेको प्रतीत हुन्छ । र, यसका पछाडि केही ऐतिहासिक सन्दर्भहरु पनि छन् ।

भारतले नेपालमाथि अन्यायपूर्वक नाकाबन्दी गर्नु, यहाँको संविधानलाई स्वागत गर्न अन्कनाउनु, नेपालको सरकार ढाल्न भारतीयहरु हात धोएर लागेको नेपालीलाई महसुस हुनु अनि पछिल्लो समयमा लोकमान प्रकरणमासमेत भारतीय राजदूतले लोकमानलाई बोकेर ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजेको भाव नेपाली जनतामा प्रवाह हुनुले मुखर्जीको भ्रमण कोपभाजनमा परेको हो ।

हुन सक्छ, मुखर्जीले काठमाडौंमा आलोचनाको शिकार बनेको क्षतिपूर्ति जनकपुरको नागरिक अभिनन्दनबाट उठाउने प्रयास गर्नेछन् । तर, जसै जनकपुरमा मुखर्जीको भव्य स्वागत र अभिनन्दन हुनेछ, काठमाडौंकेन्दि्रत जनमत निकै असहिष्ण्ुातापूर्वक त्यसलाई विद्रूपीकरण गर्नतिर लाग्नेछ । पोखरामा त मुखर्जीसँग गुनासो गर्न भूपू सैनिकहरु तम्तयार भएर बसिसकेका छन् ।

लोकमान प्रकरणः गालीबाट जोगिने छहारी

जतिबेला माओवादीका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक बनेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव पेश भयो, सोसियल मिडियाले माओवादीलाई हमला नगरेको यही घटनामा मात्रै हो ।
तर, यसमा प्रचण्ड डराउने र खुट्टा कमाउने आशंका अझै गर्न छाडिएको छैनन् ।

केपी ओलीलाई देवत्वकरण गर्दै खेलिएको सिस्नुपानीको देउसीमा समेत ‘महेन्द्रबहादुर शाही-धन्यवाद’ भनेर भट्याइएको प्रशंग पक्कै पनि प्रधानमन्त्री प्रचण्डले सुनेकै हुनुपर्छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई लोकमान प्रकरणमा मात्रै मध्यम वर्गले समर्थन गरेको छ । तर, यसको हिसाब-किताब अझै भइसकेको छैन । यसवीचमा प्रचण्डले लोकमान प्रकरणमा कस्तो व्यवहार गर्छन्, त्यसैमा उनको थप अलोकपि्रयता वा लोकपि्रयता निर्भर गर्नेछ ।

प्रचण्डले अर्को घेराबन्दी पर्खिए हुन्छ

निश्चित छ, अब कात्तिक महिनाभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा टेवल गरेपछि प्रधानमन्त्री प्रचण्डमाथि फेसबुक र टि्वटरबाट अर्को अग्निअस्त्र प्रहार हुनेवाला छ । प्रचण्डले केही गरे पनि आक्रमण हुनेछ, नगरे पनि केही गर्न नसकेको भनेर आक्रमण हुनेछ ।

लोकमानका पछि लागेको सोसियल मिडिया यतिबेला मुखर्जीतिर लागेको छ । शुक्रबार उनी दिल्ली फर्किएपछि यो सुरसाको मुख प्रचण्ड सरकारतिर सोझिनेवाला छ ।

र, अन्त्यमा,
यसरी बारम्बार भइरहेको सोसियल मिडियाको आक्रमणलाई सामना गर्ने प्रधानमन्त्री प्रचण्डसँग केही विकल्प छन्ः
पहिलो- आम ट्रेण्ड विपरीत हुनेगरी वा अलोकपि्रय निर्णयहरु नगर्ने ।

दोस्रो- आफूलाई सहासपूर्वक एन्टी करेन्ट धारमा उभ्याउने र सामाजिक सञ्जालको आलोचनाबाट विचलित नहुने ।

वा, तेस्रो- सोसियल मिडियामा आफूलाई, वा आफ्नो टीमलाई समेत सक्रिय बनाउँदै अफेन्सिभ बन्ने । माओवादी नेतृत्वको सरकारविरुद्ध भइरहेको प्रहारको प्रतिवादमा आफ्नो पार्टी मेसिनरी प्रयोग गर्ने र यो ‘भर्चुअल वार’मा मैदानमा उत्रिने ।

माओवादी केन्द्रले अब के गर्ला ? उसले जे गरे पनि यो कुरा नभुलोस् कि सोसियल मिडियामा सक्रिय पुस्ता र समाजको यो ठूलो तत्कालाई पूरै बेवास्ता गरेर, गालीगलौच गरेर वा उसलाई चिढ्याएर मात्रै माओवादी पार्टीको राजनीति उँभो लाग्न सक्दैन । माओवादीको मात्रै होइन, कुनै पार्टीको पनि भविश्य त्यसरी बन्दैन ।

प्रचण्डले चित्त बुझाउने एउटा तर्क के पनि छ भने एमाले कांग्रेस समर्थित काठमाडौंको शहरिया तप्काले उनको विरोध गरे पनि मधेसी, जनजाति र मोफसलको जनमतले त उनलाई माया नै गरिरहेको छ ।

तर, यो तर्क पनि प्रचण्ड र माओवादी नेताहरुको भ्रममात्रै हो । किनभने, ती समुदायले माया गरेको भए माओवादी पार्टी तेस्रो स्थानमा कसरी खुम्चियो ? अनलाइन खबर

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.