प्रचण्डले भने- अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाइँदैन

खबर पुर्वान्चल, २१ कार्तिक २०७३, आईतवार

संवैधानिक अंगमा अंगीकृतलाई अधिकार दिइन्नः माओवादी प्रवक्ता भुसाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंगीकृत नागरिकता लिएका व्यक्तिहरु राष्ट्रपति वा प्रधानमन्त्री लगायतका महत्वपूर्ण पदमा नियुक्त हुनै नसक्ने बताएका छन् ।

आइतबार अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बन्न दिने भन्ने कहीँ कुरा भएकै छैन, संविधान संशोधन प्रस्ताव बनाउने म हुँ, यो विषयमा कुनै प्रस्ताव तयार भएकै छैन ।’

संविधान संशोधनको प्रस्ताव तयार पार्ने गृहकार्य भइरहेको भए पनि राष्ट्रपति र प्रधानमन्त्रीजस्ता पदहरुमा अंगीकृत नागरिकलाई चुनिन पाउने अधिकार दिनै नसकिने प्रधानन्त्री प्रचण्डले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पदहरु अंगीकृत नागरिकलाई दिइनुहुँदैन ।’

संविधान संशोधनलाई ओझेलमा पार्ने षडयन्त्रः पम्फा

यसैवीच माओवादी प्रवक्ता पम्फा भुसालले पनि संविधान संशोधन गर्दा अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन नसकिने बताइन् ।pampha-bhusal-455

भुसालले  भनिन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रहरी प्रमुख एवं संवैधानिक अंगका प्रमुखहरुमा अंगीकृत नागरिकलाई अधिकार दिने प्रश्नै आउँदैन । अन्तरिम संविधानमा पनि यस्ता प्रमुख पदहरुमा अंगीकृतलाई अधिकार दिइएको छैन ।’

संविधान संशोधनका क्रममा अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउन लागियो भन्ने प्रचार गरेर विखण्डवादीहरुले चलखेल गरेको भुसालले आरोप लगाइन् । उनले भनिन्- ‘संविधान संशोधन गर्न नदिने र नेपालीहरुवीच एकता हुन नदिने तत्वहरुले यस्तो प्रचार गरेका हुन, जुन सत्य होइन । प्रमुख संवैधानिक पदमा अंगीकृतलाई अधिकार दिने गरी संविधान संशोधन हुँदैन ।’अनलाइनखबर

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.