खुल्ला दिसा मुक्त कार्यान्वयन खोई ?

खबर पूर्वाञ्चल, १८ पुष २०७४, मंगलवार २०:४८

सरोज बस्नेत
उर्लाबारी नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको ६ बर्ष बितिसक्दा समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । २०६८ चैत्र २५ गते उर्लाबारीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको थियो ।

खुल्ला दिसा मुक्त घोषणा भएपछि प्रभावकारी रुपमा अनुगमन नगरिएका कारण उर्लाबारीका केही क्षेत्रमा खुल्ला दिसा मुक्त कार्यक्रम कार्यान्वयन हुन नसकेको हो । उर्लाबारीलाई दिसामुक्त घोषणा गरिएपनि त्यसको अनुगमन र नियमन नहुँदा प्रभावकारी हुन नसकेको स्थानीयले बताएका छन् ।

उर्लाबारी नगरपालिकाले पञ्च बर्षे पूर्ण सरसफाईका लागि रणनीतिक कार्ययोजना तयार गरेर टोल, वडा र नगरसम्मेलन गर्नु पर्ने देखिन्छ । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुनु मात्रै ठूलो कुरा होइन, त्यसलाई प्रभावकारी रुपमा अनुगमन गरेर कार्यान्वयन गर्नु पर्छ ।

उर्लाबारी नगरपालिकाले कडा रुपमा नीति नियम बनाएर कार्यान्वयन गर्नुपर्नेमा देखिन्छ । उर्लाबारीलाई खुल्ला दिसा मुक्त सुन्दर शहर बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।

खोई सार्वजनिक शौचालय ?
उर्लाबारी चौकबाहेक अन्य कुनै ठाँउमा सार्वजनिक शौचालय छैन । सार्वजनिक शौचालय नभएका कारण सर्वसाधारणहरुले खुल्ला रुपमा दिसा पिसाव गर्दै आएका छन् । बक्राहा घाटमा नाममात्रको अर्काे एक सार्वजनिक शौचालय पनि छ ।

सार्वजनिक शौचालय भएपनि चाबी बन्द हुने गर्दछ । यस्तै, उर्लाबारी –३ मा रहेको सार्वजनिक शौचालयसमेत भत्काइएको थियो । मानिसहरुको बढी जमघट हुने स्थानहरुमा सार्वजनिक शौचालयको आवश्यक रहेको देखिन्छ ।

२०६८ सालमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्दा तत्कालिन समयमा १० स्थानमा सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएको भएपनि अहिलेसम्म त्यसले कुनै मुर्त रुप पाएको छैन । उर्लाबारीमा सार्वजनिक शौचालयको अति आवश्यक रहेको छ । उर्लाबारी चौकमा रहेको सार्वजनिक शौचालयको अवस्था पनि लथालिङ छ । उर्लाबारी नगरपालिकाले मर्मत सम्भार गर्ने बिषयमा चासो दिएपनि अझैसम्म काम भएको छैन ।

कहाँ छ, घुम्ती शौचालय
घुम्ती शौचालय भन्ने बित्तिकै घुम्नु पर्ने हो । तर, पूर्वाञ्चल मै पहिलो पटक मोरङको उर्लाबारीबाट संचालनमा आएको घुम्ती शौचालय आफैं बिरामी परेको छ । घुम्ती शौचालय मर्मत सम्भारमा सम्बन्धित निकायले चासो नदिंदा अहिले प्रयोग बिहीन अवस्थामा पुगेको छ ।
आवश्यक मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नदिँदा लाखौं मूल्यमा निर्माण गरिएको सो शौचालय केही समयदेखि प्रयोग बिहीन अवस्थामा पुगेको हो । ट्याक्टरको सहयोगले एक ठाउँबाट अर्काे ठाउँमा सहजै पुर्याउन सकिने सो शौचालय प्रयोग बिहीन हुनु दुखद् भएको स्थानीयको भनाई छ ।

पूर्वाञ्चलमै पहिलो पटक उर्लाबारीमा भित्रिएको उक्त शौचालयको मर्मत सम्भार नभएर प्रयोग बिहीन हुनु उर्लाबारीबासीको लागि लाजमर्दो भएको स्थानीयबासी बताउँछन् । खुल्ला दिसा मुक्त घोषणा समन्वय समितिले २०६८ सालमा उक्त शौचालय सञ्चालनमा ल्याएको थियो । सो शौचालयमा महिला र पुरुषलाई छुट्टाछुट्टै शौच गर्ने ब्यवस्था रहेको थियो भने ऐना, बिजुली, पानीलगायतको ब्यवस्था समेत रहेको थियो ।

तत्कालीन उर्लाबारी गाविस र प्लान नेपालको सहयोगमा करिब ५ लाखको लागतमा सो शौचालय निर्माण भएको थियो । उक्त शौचालय विभिन्न ठूला सभा, सम्मेलन, महोत्सव, बिवाह, गोष्ठी लगायतका लागि उपयुक्त भएपनि प्रयोग बिहीन हुनु दुर्भाग्यपूर्ण हो । उक्त शौचालय झापा, मोरङका विभिन्न स्थानहरुमा भएका सभासम्मेलनमा प्रयोग हुँदै आएको थियो । कुनै कार्यक्रम गर्नु पर्दा बाहिर शौच हुने अवस्थालाई अन्त्य गर्न यसले सहयोग पुग्ने भएकाले तत्काल मर्मत गर्न सरोकारवाला निकाय लाग्नु पर्ने देखिन्छ ।

खुदिमु अभियानको चुनौति
‘हग्ने बानी थियो मेरो बाटो घाटो छेउ बल्ल कुरा बुझेँ अनि कस्तो भयो झ्याउ’ पछिल्लो समयमा सरसफाई सम्बन्धि यो गीत नसुन्ने मान्छे सायदै कम होलान् । तर, गीतको भाव बुझेर पनि बुझ पचाउने मान्छेसँग कसको के नै लाग्दो रहेछ । सरसफाई आफ्नै लागि हो, तर पनि सरसफाई गर भनेर अरुलाई सिकाउनुपर्ने ।

मानिस समाजको सबैभन्दा शिक्षित बर्गमा पर्छ तर त्यहीँ मानिस हो, जो पशु भन्दा पनि तल झर्छ । पशुले जस्तो सार्वजनिक ठाउँमा दिसा पिसाव गर्दा समेत उसमा लाज हुँदैन । अनि विभिन्न वहाना बनाएर घरमा चर्पी बनाउँदैन । हामीमा खुल्ला ठाँउमा दिसा पिसाव गर्नु हँुदैन भन्ने बुझाई नभएको पनि हैन । थाहा पाएर पनि नपाए जस्तो व्यवहार गर्नेहरुको संख्या पनि उत्तिकै छ ।

मोरङ जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान चलाएपनि त्यो सफल बन्न सकेन । नेपालीमा उखान नै छ ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ । बटुवाहरु आँउछन् बाटो छेवैको घारिमा पसेर टाउको निहुर्याएर निसंकोच सौच गर्छन्, तर, त्यही बाटो क्रस गरेर जानेहरुलाई समस्या हुने गरेको छ ।

के हो खुल्ला दिसामुक्त भनेको ?
मान्छे या गाईवस्तुको फोहोर र पिउने पानी सदैव अलग–अलग राख्ने हो भने देश विकासको जग नै यति साधारण कुराबाट सुरु हुन्छ । सरसफाई गुरु योजना २०११ का अनुसार खुल्ला दिसामुक्त भन्नाले खुल्ला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ ।

दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढकन लगाइएको अवस्थाले (चर्पीमा) खुल्ला दिसामुक्त जनाउँदछ । तर, ढकन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ । खुल्ला दिसामुक्त अवस्थाले पानी सिर्जित विभिन्न सरुवा रोगहरु लाग्ने गर्दछन् । एउटा चर्पी नहुँदा, हरेक वर्ष नेपालमा पाँच वर्षभन्दा मुनिका १० हजार ५ सय बालबालिकाको औसतमा हरेक दिन २९ जना बालबालिकाको मृत्यु भइरहेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.